नौरते नेपाली
सिँजा (जुम्ला), साउन २३ गते । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका हुन् ।
बा. १ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनास्थल कालिकोटमा भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ ।