चन्द्र पन्दाक
ताप्लेजुङ, साउन २३ गते । ताप्लेजुङमा अलैँची खेतीतर्फ किसानको आकर्षण बढेको पाइएको छ । पछिल्लो समय अलैँचीको मूल्य आकर्षक रुपमा वृद्धि भएपछि खेतीतर्फ किसानको आकर्षण बढेको हो ।
अलैँची खेतीतर्फ किसानको आकर्षणसँगै उनीहरुले धान, मकै, कोदोजस्ता खाद्यान्न बाली उत्पादन हुने खेतीयोग्य जमिन मासेर अलैँची रोप्न थालेका हुन् । पछिल्लो समय वृद्धि भएको अलैँचीको मूल्य कायम रहेमा खाद्यान्न बालीभन्दा अलैँचीबाट धेरै गुणा बढी आम्दानी हुने भएकाले खेतीतर्फ किसान आकर्षित भएका हुन् ।
गएको आर्थिक वर्षमा अलैँचीको मूल्य अत्यधिक राम्रो आएकाले जिल्लाका किसान खेती गर्नेतर्फ आकर्षित भएका हुन् । मिक्वाखोला गाउँपालिका –४ साँवाका स्थानीय इन्द्र थलङ लिम्बूले राम्रो मूल्य आएकाले अलैँची खेती गर्नमा किसानको जाँगर पलाएको बताउनुभयो । आकर्षक मूल्यसँगै अन्य खेतीजस्तो बढी मिहिनेत पनि गर्नु नपर्ने भएकाले अलैँची खेतीमा किसानको आकर्षण बढेको लिम्बूले बताउनुभयो ।
लिम्बूले आफ्नो करिब ३० रोपनी क्षेत्रफल बराबरको जमिनमा यस पटक अलैँची खेती विस्तार गरेको बताउनुभयो । लिम्बूले सो जमिनमा भएको पुरानो बगान (बगैँचा) लाई राम्ररी स्याहारसम्भार गर्नुका साथै जमिन खाली भएको ठाउँमा अलैँचीको बिरुवा रोप्नुभएको छ । मिक्वाखोला गाउँपालिकाकै खोक्लिङ निवासी विनोद साँवा लिम्बूले पनि यसवर्ष अलैँचीको खेती निकै विस्तार गर्नुभएको छ ।
यस्तै, सिरिजङ्घा गाउँपालिका –७ खेबाङका स्थानीय नेत्र आचार्यका अनुसार अधिकांश किसानले यसवर्ष अलैँची खेती विस्तार गरेका छन् । पछिल्लो वर्ष अलैँचीको मूल्य राम्रो आएपछि खेती गर्नतर्फ किसानलाई हौसाएको आचार्यले बताउनुभयो । फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिमका स्थानीय क्षितिज लिङ्खिम लिम्बूले पनि गाउँका धेरै किसानले नयाँ अलैँची खेती लगाएको बताउनुभयो ।
यसरी जिल्लाका धेरै किसानले यसवर्ष अलैँची खेती विस्तार गरेका छन् । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको मूल्य वृद्धि भएकै कारण खेतीतर्फ स्थानीय किसान आकर्षित भएका अर्थात् हौसिएका हुन् । अलैँची खेतीमै निर्भर रहँदैआएका अधिकांश किसानले बिचमा झण्डै ८–१० वर्षसम्म मूल्यमा निरन्तर गिरावट आएपछि वैकल्पिक पेशा अपनाउन थालेका थिए ।
पछिल्लो वर्ष पुनः अलैँचीको मूल्य राम्रो आएपछि खेतीतर्फ किसान आकर्षित हुन थालेका अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवी रेग्मीले बताउनुभयो । सङ्घका अध्यक्ष रेग्मीले पछिल्लो पटक वृद्धि भएको मूल्य कायम नहरे पनि खाद्यान्न बालीको तुलनामा अलैँची खेतीले नै यहाँका किसानलाई फाइदा हुने बताउनुभयो ।
उहाँका अनुसार खाद्यान्न बालीभन्दा अलैँचीबाट नै राम्रो फाइदा हुने बुझाइसहित स्थानीय किसानहरु खेती गर्नेतर्फ जुटेका छन् । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार पनि जिल्लाका किसानले यसवर्ष अलैँची खेती विस्तार गरेका छन् ।
खेती विस्तार गरिएको यकिन तथ्याङ्क तत्काल नभए पनि अधिकांश किसानले खेती विस्तार गरेको पाइएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवम् बाली संरक्षण अधिकृत शशीकुमार सिंहले बताउनुभयो ।
नौ स्थानीय तह र ६१ वटा वडा रहेको जिल्लामा फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदैआएको छ । खेती विस्तारसँगै अब अलैँचीको खेती क्षेत्र बढ्ने अनुमान गरिएको छ ।
जेठको दोस्रो साता पछिदेखि साउन महिनाको अन्तिमसम्म अलैँचीको बिरुवा रोप्ने गरिएको छ । किसानका अनुसार अलैँचीको बिरुवा रोपेको कम्तीमा तीन वर्षदेखि फल लाग्न थाल्ने गर्दछ । यता गत आवमा अलैँची प्रतिमन (४० किलोग्राम) एक लाख १५ हजार रुपियाँसम्म मूल्यमा कारोबार भएको थियो ।