साहारा लिम्बू
फुङलिङ, साउन २३ गते । सुदूरपूर्वको जिल्ला ताप्लेजुङ, भौगोलिक हिसाबले नेपालको तेस्रो ठुलो जिल्लाको रुपमा चिनिन्छ । हिमाली जिल्ला भएकाले हरेक क्षेत्रको विकासमा पछि पर्ने गरेको छ। यहाँ स्थायी प्याराफिटसहितको खेलमैदान नहुँदा जिल्लाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपका लागि विद्यालयको खेल मैदान प्रयोग गर्न बाध्य भएको छ ।
यसअघि पाथीभरा गोल्डकपको नामबाट चौथौ संस्करणसम्म सञ्चालन भएको खेल विवादका कारण पाथीभरा गोल्डकपबाट रूपान्तरण गरी विसं २०८० सालबाट ताप्लेजुङ गोल्डकपको यात्रा सुरु भयो । यसभन्दा अघि पनि पटक–पटक गोल्डकपको नाम परिवर्तन हुँदै सञ्चालन भएको थियो ।
नाम पटक–पटक परिवर्तन भए पनि सञ्चालन गर्ने संस्था र मैदान भने हालसम्म एउटै छ । आयोजकले विभिन्न समयमा नाम परिवर्तनको समस्या मात्र नभएर हरेक वर्ष अन्य विभिन्न चुनौतीको सामना गरिरहनुपरेको छ ।
पूर्वकै धेरै दर्शक आउने दाबी गरिएको यो गोल्डकप सञ्चालनले करिब आधा शताब्दीभन्दा लामो समयसम्म निरन्तरता पाइरहेको छ। खेल हेर्न ताप्लेजुङसहित छिमेकी जिल्ला तेह्रथुम, पाँचथर, इलामलगायतका ठाउँबाट हजारौँ दर्शक मैदानमा उपस्थित हुने गरेका छन्।
ती सबै दर्शकलाई अटाउन मैदान वरिपरि हरेक वर्ष बाँसको अस्थायी प्याराफिट निर्माण गर्नुपर्ने बाध्यता छ। यस वर्ष पनि साउन २४ गतेबाट सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपका लागि अस्थायी प्याराफिट निर्माणको काम सम्पन्न भएको छ।
प्याराफिट निमार्णका लागि तीन लाख ६५ हजार रुपियाँमा दोणराज पाण्डेलाई ठेक्का दिइएको लाखेजात्रा सञ्चालक समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । उहाँका अनुसार प्याराफिट निमार्णका लागि आवश्यक पर्ने बाँस, डोरीलागायतका सामग्री आयोजकले नै उपलब्ध गराएको हो । यी सबैगरी करिब सात लाख रुपियाँ खर्च भएको छ।
यस्तै, गत वर्ष प्याराफिट निर्माण गर्न १२ लाख ७२ हजार ९ सय ७४ रुपियाँ खर्च भएको थियो । बाँस खरिद, ढुवानी, कामदार ज्याला र डोरी तथा सामग्रीहरुमा उक्त रकम खर्च भएको हो । गतवर्ष भने सबै काम आयोजकले नै गरेको थियो । आयोजक आफैंले निर्माण गर्दा धरै खर्चालु भएका कारण यो वर्षमा भने निर्माणको काममा ठेक्का प्रक्रियालाई अघि सारिएको कोषाध्यक्ष शेर्पाको भनाइ छ ।
यसरी जिल्लामा खेलमैदान नहुँदा वर्षेनी प्रत्यक्ष आर्थिक भारमा आयोजक पर्ने गरेको छ । मैदानमा करिब ८ हजारभन्दा बढी दर्शक अटाउने प्याराफिट निर्माण गरिए पनि फाइनलको दिन दर्शक नै नअटाएर केही भागमा उभिएर खेल हेर्नुपर्ने दर्शकको बाध्यता छ । यो खेल जनैपूर्णिमाको अवसरमा खेलाइने भएकाले वर्षा भइहालेमा मैदान हिलाम्मे हुने लगायतका अधिकांश समस्या आयोजकले झेलिरहनुपरेको छ।
यत्तिका ठुलो खेल सञ्चालन हुने जिल्लामा सुविधा सम्पन्न रङ्गशाला नहुँदा आयोजकले मात्र नभएर दर्शक साथै खेलाडीले समेत सास्ती खेपिरहनु परेको छ । स्थानीय सरकारले रङ्गशाला निर्माणको काम अघि नबढाएको भने होइन, तर स्थानीयको विरोधले रङ्गशाला निर्माणको काममा ढिलाइ भइरहेको छ । बजार क्षेत्रभन्दा केही टाढा भएकाले उपयुक्त नहुने बजारवासीको अडान छ । त्यसैले पुन अहिले फुङलिङ नगरपालिकाले बजार क्षेत्रको नजिकै खुल्ला मैदान खरिदको प्रक्रिया अघि बढाउँदा रङ्गशाला निर्माणको कार्यमा ढिलाइ भइरहेको छ।
समयमा रङ्गशाला नबन्दा साँघुरो मैदानमा खेलाडीले जोखिमपूर्ण खेल खेल्नुपर्ने बाध्यता छ । विभिन्न सङ्घ संस्था तथा व्यक्तिबाट हारगुहार गरी सङ्कलन गरेको रकमले प्रत्येक वर्ष मैदान मर्मत तथा प्याराफिट निर्माणमा मोटो रकम खर्च हुँदा आयोजकलाई भार पर्ने गरेको छ । जसका कारण यत्तिका लामो समयसम्म सञ्चालन भएको खेलको साख जोगाउनलाई प्रत्येक वर्ष आर्थिक सङ्घर्ष गरिरहनुपरेको छ ।