• २३ साउन २०८२, शुक्रबार

लमजुङ प्रहरीद्वारा दुई सय हतियार बरामद

blog

जिल्ला प्रहरी कार्यालय लमजुङले जफत गरेका हातहतियार । फाइल तस्बिर

नवीनराज कुइँकेल
लमजुङ, साउन २३ गते ।
लमजुङ प्रहरीले एक वर्षको अवधिमा करिब दुई सय अवैध हतियार बरामद गरेको छ । आर्थिक वर्ष २०८१/२०८२ मा जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा घरमै राखिएका एकसय ९७ वटा हतियार प्रहरीले बरामद गरेको हो । 

जिल्ला प्रशासन कार्यालयमा भएको लगतअनुसार विगत पाँचवर्ष यता नवीकरण नभएका एकसय ९७ थान हतियार बरामद गरिएको लमजुङका प्रहरी प्रमूख एवम् प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो । प्रहरीले अभियानकै रुपमा गत आर्थिक वर्षमा अवैध हतियार खोजी गरेको थियो ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट सातसय ६४ थान हातहतियारको लगत सङ्कलन गरी खोजी कार्य तीव्र पारेको थियो । प्रशासनको लगतअनुसार पाँचसय बढी हतियारको विवरण प्राप्त भएको र अझै केही हतियारको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।

अवैध हतियारका कारण जिल्लाको शान्ति सुरक्षामा चुनौती बढेको र विभिन्न आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै नियन्त्रणका लागि अवैध हतियार खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय हात हतियार इजाजत प्राप्त व्यक्तिले मात्र राख्न पाउनुपर्नेमा अन्य व्यक्तिले पनि प्रयोग गरेको हुन सक्ने, हतियारको दुरुपयोग हुन सक्ने आशङ्का बढेकाले विगतमा इजाजत प्राप्त भएका तर समयमा नवीकरण नभएका हातहतियार प्रहरीले खोजी अभियान सुरु गरेको हो ।

कानुनी प्रावधानअनुसार बर्सेनि हातहतियारको नवीकरण गर्नुपर्ने प्रावधान रहे पनि लमजुङमा भने न्यून मात्रामा नवीकरण हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार जिल्लामा एक हजार बढी हातहतियार दर्ता रहे पनि गत आर्थिक वर्षमा दुई सय ७६ वटा हतियार मात्रै नवीकरण भएका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको अवधिमा एकसय ४३ हातहतियार नवीकरण र २१ वटा नामसारी भएको हो ।

जिल्लाभर प्रयोग गर्न पाउने हतियार जिल्लामै नवीकरण हुने र देशभर चलाउनका लागि इजाजत प्राप्त भएका हातहतियार जिल्ला बाहिर पनि नवीकरण हुने हुँदा पूरा विवरण प्राप्त गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन लमजुङबाट पाँच वर्षभन्दा अघिदेखि नवीकरण नभएका हातहतियार बुझाउन पटकपटक आग्रह गर्दै आएको थियो । तर प्रशासनले दिएको समयमा न्यून मात्रामा हतियार नवीकरणका लागि आएका थिए ।

पाँच वर्षभन्दा बढी नवीकरण हुन नसकेका हतियारको इजाजत खारेज गरी हतियार जफत गर्ने गृह मन्त्रालयको निर्देशनअनुसार जिल्लाबाट खटिएका प्रहरी टोलीले उक्त हातहतियार बरामद गरेका थिए । अभियानलाई निरन्तरता दिँदै बाँकी हतियार पनि जफत गरिने प्रहरीले जनाएको छ ।