रौतहट समाचारदाता,
रौतहट, साउन २३ गते । समाजमा थुप्रै परिवर्तन हुँदै गए पनि रौतहटको आदिवासी थारू समुदायमा परम्परागत ‘पर्म’ र ‘ऐँचोपैँचो’ प्रथा भने जीवितै छ । जिल्लाको गुजरा नगरपालिकाको चोचा, रङ्गपुर, भवानीपुर, दियालपुर, फतुवा विजयपुर नगरपालिकाको विजयपुर र चन्द्रपुर नगरपालिकाको मोथियाही, मोतीपुर, सन्तपुर र डुमरियालगायतका स्थानमा बसोबास गर्ने थारू समुदायमा प्रचलित उक्त प्रथा अझै पनि प्रचलनमा छ ।
‘पर्म’ एकले अर्काको काममा आलोपालो गरी सघाउने चलन हो भने ‘ऐँचोपैँचो’ कुनै सामान, अन्न, पैसा वा सहयोग अस्थायी रूपमा सापटी दिइने र पछि सोहीबमोजिमका वस्तु तथा वस्तुका मूल्य बराबर फिर्ता लिने चलन हो । यो थारू समुदायको परम्परागत आर्थिक व्यवस्थाको एउटा महत्वपूर्ण अंश मानिएको छ ।
चन्द्रपुर नगरपालिकाका पूर्वप्रमुख रामचन्द्र चौधरी भन्नुहुन्छ, “विशेषतः वैवाहिक कार्यक्रम, भोजभतेर, चाडपर्व र कृषि कार्यमा खसी, कुखुरा, चामल, तेल, दाल, नगददेखि श्रम र जनशक्तिसमेत सापटी माग्ने र सापटीकर्तालाई आवश्यक परेको बखत फिर्ता गर्ने चलन अहिले पनि थारू समुदायमा चलेको छ । उक्त चलन अन्य समुदायमा पनि नभएको भने होइन तर समय परिवर्तनसँगै बिस्तारै हराउँदै गएको पाइन्छ ।”
फतुवा विजयपुरनगर कमिटीका पूर्वउपाध्यक्ष विजय चौधरीले उक्त प्रथाले विशेष गरी आर्थिक अवस्था कमजोर परिवारका लागि ठुलो राहत मिलेको बताउनुभयो । उहाँका अनुसार पर्म र ऐँचोपैँचो केवल लेनदेनको साधन मात्र होइन, सामाजिक एकता र सहकार्यको जीवन्त प्रमाण हो । यसले समुदायभित्र विश्वास र आपसी सहयोगको भावना बलियो बनाएको छ ।
चन्द्रपुर नपा–६, मोथियाहीका निर्माण व्यवसायी प्रेम चौधरीले यही वैशाख महिनामा गाउँका साथी समूहसँग २० किलो चामल, १५ किलो दाल, दुई वटा खसी पैँचो लिएर छोरीको बिहे गर्नुभएको सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “छोरीको विवाह अपर्झट गर्नुपर्ने लगन जुरेकाले आफूसँग अपुग भएको सामग्री पैँचो लिएर विवाह सम्पन्न गरियो । पैँचो प्रथाले न्यून आय भएका वर्गका लागि सामाजिक प्रतिष्ठा जोगाउने कार्य गरेको छ ।”
यस्तै आपसी सहयोगको सम्बन्ध प्रगाढ बनाउने प्रथा पर्म पनि थारू समुदायमा प्रचलित छ । विशेष गरी कृषियाममा पर्म प्रथा अझ बढी देखिन्छ । गुजरा नगरपालिका रङ्गपुरका अगुवा कृषक रामजोधी चौधरीले अन्नबाली रोपनी, कटनी, झटनी (धान वा गहुँ चुटेर दाना झार्ने काम), सोहनी (गोडमेल गर्ने काम) वा गोठ, घर निर्माणमा पर्म प्रथाले गाउँलेबिच पारस्परिक सहयोगमा योगदान पु¥याउने बताउनुभयो ।
विशेष गरी धान रोप्ने समयमा पर्म प्रथा निकै महìवपूर्ण मानिन्छ । गुजरा नपाको दियालपुर टोलका थारू किसान आपसमा मिलेर टोलवासी थारू समुदायको रोपाइँ मैझारो गरेका छन् । ज्याला तिरेर पनि कृषि मजदुर नपाउने अहिलेको अवस्थामा पर्म प्रथाले किसानलाई ठुलो राहत पु¥याएको पालिका प्रमुख सन्तलालप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार आर्थिक सङ्कटमा परेका परिवारका लागि पर्म तथा पैँचो परम्परा जीवनदायी साबित हुन्छ ।
थारू कल्याणकारी सभाका रौतहट सचिव प्रमोद चौधरी भन्नुहुन्छ, “हाल नगद अर्थतन्त्रको प्रभाव बढ्दै जाँदा उक्त प्रथा केही हदसम्म घट्दै गएको देखिन्छ । कतिपय युवापुस्ताले यस्ता प्रथालाई परम्परागत सोचका रूपमा लिन थालेका छन् तर पनि ग्रामीण क्षेत्रमा अझै उक्त चलन चलेकै पाइन्छ । आर्थिक लेनदेनभन्दा बढी सामाजिक सम्बन्धमा आधारित उक्त परम्परा संरक्षणयोग्य मौलिक सांस्कृतिक सम्पदा हो ।”