रङ्गेली समाचारदाता
विराटनगर, साउन २३ गते । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिकाभित्र पर्ने छ किलोमिटर दुरीको निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयले हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएका छन् । छ वर्षदेखि निर्माणाधीन रहेको सडकको भौतिक प्रगति २७ प्रतिशत मात्रै भएको हो ।
निर्माणाधीन चरणको सडकमा पानी भरिएका खाल्डा पार गर्न हम्मे हम्मे पर्ने गरेपछि स्थानीय हैरानी भएका हुन् । बारम्बार निर्माण तदारुकताको माग गर्दासमेत पहल नभएपछि बिहीबार स्थानीयले सडकको खाल्डोमा पानी भरिएको ठाउँमा धान रोपेर विरोधको प्रतीकात्मक सन्देश दिएका हुन् ।
कटहरी गाउँपालिका–३, कटहरीमा चोकमा १० बजेदेखि ११ बजेसम्म स्थानीय महिला विरोधमा उत्रिएका हुन् । हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर दुरीमध्ये हाटखोला–नयाँबजारको छ किलोमिटरमा २०७६ सालदेखि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माण सम्झौता गरेको थियो । यसको छ वर्षसम्मको प्रगति २२ प्रतिशत मात्रै छ ।
पुरानो कालोपत्रे सडकको दायाँबायाँ विस्तारसँगै भत्काइएको छ । सडकको दायाँबायाँ माटोले पुरिएको भागमा सवारी गुडाउन जोखिम छ । सडक विस्तारपछि विद्युत्का पोल बिच भागमा छन् । सडक विस्तारका लागि बिच भागको कालोपत्रे सडक पनि भत्काइएको थियो । ठेकेदारले भद्रगोल अवस्थामा सडक छाडेको भन्दै बारम्बार स्थानीय तह कटहरी गाउँपालिकाले पनि विरोध गर्दै आएको थियो । यसका मुख्य ठेकेदार सम्पर्कमा अहिलेसम्म नआएको गाउँपालिका अध्यक्ष देवराज चौधरी बताउनुहुन्छ । पेटी ठेकेदारसमेत बारम्बार परिवर्तन हुने गरेका छन् । केही समयअगाडिसम्म भूपाल श्रेष्ठमार्फत निर्माण भइरहेकोमा अहिले अभिषेक गिरीमार्फत काम भइरहेको हो ।
कटहरी गाउँपालिका–३ निवासी लक्ष्मीदेवी साहले भइरहेको कालोपत्रे सडक भत्काएर नयाँ नबनाउने ठेकेदारलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । विराटनगर–८, हाटखोला र कटहरी गाउँपालिका २ लाई छुट्याउने सिङ्घीया खोलादेखि कटहरी–३ को जुडीखोलासम्मको दुरीमा सवारी आवतजावतमा समस्या रहँदै आएको छ ।
तीन वर्षमा सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी श्रेष्ठ कन्स्ट्रक्सनलाई ७६ करोड रुपियाँमा निर्माण जिम्मेवारी रहेको छ । सम्झौता अनुसार २०७९ कात्तिक २३ गते सम्पन्न हुनुपर्ने म्याद रहेको थियो । २०८२ जेठ मसान्तसम्म नयाँ म्याद कायम गरिएको थियो । त्यो म्यादसमेत गुज्रेको छ ।