काठमाडौँ, साउन २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–जापानबिचको प्राविधिक साझेदारीलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल र जापानको प्राविधिक साझेदारीलाई सहज बनाउन आयोजना गरिएको जापान–नेपाल आइटी फोरम २०२५ लाई सम्बोधन गर्दै मन्त्री गुरुङले त्यस्तो बताउनुभएको हो ।
‘‘यो कार्यक्रमले दीर्घकालीन रणनीतिक साझेदारीको सुरुवातलाई सङ्केत गर्दछ । हामी यसलाई जापान–नेपाल आइटी काेरिडोरको जगको रूपमा परिकल्पना गर्छौँ, जुन नवप्रवर्तन, लगानी, पूर्वाधार र प्रेरणाको गतिशील पुल भएको छ’’,मन्त्री गुरुङले भन्नुभयो ।
नेपाल–जापान प्राविधिक कूटनीतिमा एक नयाँ अध्याय भएको उहाँको भनाइ छ । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत डिजिटल र आइसिटी क्षेत्रमा पारस्परिक वृद्धिलाई प्रवर्धन गर्न जापान सरकारसँग रणनीतिक सहकार्यलाई सक्रिय रूपमा बढावा दिइरहेको उहाँले बताउनुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, ‘‘डिजिटल रूपान्तरण र आर्थिक आधुनिकीकरणको लागि नेपालको दीर्घकालीन दृष्टिकोण अनुरूप, नेपालले उच्च प्राथमिकताका क्षेत्रमा जापानबाट व्यापक सहयोग र लगानी सहयोग खोजिरहेको छ।’’
सरकारले क्षेत्रीय र विश्वव्यापी आवश्यकता पूरा गर्न हरित डेटा पूर्वाधार निर्माण गर्न जापानी लगानी आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय डिजिटल दृष्टिकोणलाई साकार पार्न जापानको प्राविधिक र वित्तीय सहकार्य महत्त्वपूर्ण हुने भन्दै उहाँले नेपालले सरकार–सरकार ९जिटुजी० ढाँचा अन्तर्गत आफ्नै उपग्रह प्रक्षेपण गर्न जापानको प्राविधिक सहयोग खोजिरहेको बताउनुभयो । यो पहलले ग्रामीण सम्पर्क, मौसम पूर्वानुमान, विपद् तयारी, र दूर शिक्षालाई सुदृढ बनाउने उहाँको विश्वास थियो ।
जापानी लगानीकर्ता, अनुसन्धानकर्ता र प्राविधिक उद्यमीलाई नेपाललाई सूचना प्रविधि नवप्रवर्तन र सहकार्यको लागि आफ्नो मनपर्ने गन्तव्य बनाउनसमेत मन्त्री गुरुङले अनुरोध गर्नुभएको छ । मन्त्री गुरुङले पूर्ण संस्थागत सहयोग, नियामक स्पष्टता र नीतिगत समन्वय प्रदान गर्न नेपाल प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो ।



