राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), साउन २२ गते । संघ संस्था खोल्नेहरुको ध्यान नवीकरण तर्फ नगएको पाइएको छ । स्याङ्जामा दर्ता भएका संघसस्थाहरु मध्ये १० प्रतिशतका हाराहरीमा नवीकरण भएको भेटिएको हो ।
आर्थिक वर्ष २०८१/८२ को असार मसान्त सम्ममा जिल्लामा दुई हजार सात सय ६७ संघसंस्था दर्ता भएकोमा तीन सय ४४ वटा मात्रै नवीकरण भएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “संघसंस्था दर्ता गर्ने, तर पछि बेवास्ता गर्नाले समस्या आएको हो ।” चालु आवमा यसमा कडाई गरिने उहाँको भनाइ छ । संस्थालाई नियमन गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरिने उहाँको भनाइ छ । प्रशासनले जनाएको छ ।
संस्था दर्ता गर्न सक्रिय हुने व्यक्तिहरु त्यसपछि सुस्ताउने गरेको प्रशासनको भनाइ छ । संस्था दर्ता तर्फ चासो दिनेहरुले आफ्नो संस्थाको सञ्चालन र व्यवस्थापनमा ध्यान नदिँदा नवीकरण हुने क्रम न्यून रहेको हो ।
अनुदानका लागि दर्ता गरिएका कतिपय संस्थाहरु अनुदान पश्चात बेवास्ता गरिएको प्रशासनको बुझाइ छ । दर्ता भएका संघसंस्था सहजै खारेजी गर्न नसकिने व्यवस्थाले गर्दा पनि यस तर्फ सञ्चालकको ध्यान नगएको हुन सक्ने अधिवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता भन्दा खारेजी जटिल छ, धेरै विषयमा स्पष्ट पार्नु पर्दछ । नियमन निकायले विशेष ध्यान नदिँदा समस्या आएको सुवेदीको बुझाइ छ ।
सामाजिक सेवाको नाममा खोलिएका विभिन्न गैह्रसरकारी संस्था,आमा समुह, क्लब, प्रतिष्ठान, मन्दिर, पुस्तकालय लगायतका संघसंस्थाहरु अहिले नवीकरण बिहिन बन्दै गएका हुन् ।
संस्था नवीकरण प्रति सरोकारवालाहरुको चासो नहुनुले नागरिक संस्थागत उत्तरदायित्वप्रति जिम्वेवार नभएको प्रशासनको भनाइ छ ।
स्थानीय तहहरुले संस्था दर्ताको काम समेत सुरु गरेको भन्दै यस तर्फ सबैले ध्यान दिनु पर्नेमा स्याङजाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “दर्तासँगै पान तथा भ्याट नम्वर लिएका संघसंस्थाहरुले नवीकरण र व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको छ ।” ढिलो भए पछि धेरै खर्चिलो हुने उहाँको भनाइ छ ।