सर्लाही समाचारदाता
सर्लाही, साउन २२ गते । सिँचाइका लागि विद्युतीय मोटर र बोरिङ अत्यधिक प्रयोग हुन थालेपछि भोल्टेजको समस्या बढ्न थालेको छ । छिनमै विद्युत् कटौती हुने र भोल्टेज नआउने समस्याले किसान तथा सर्वसाधारण हैरान भएका छन् ।
सर्लाहीमा तीन वटा वितरण केन्द्रमध्ये मलङ्गवा वितरण केन्द्रमा भोल्टेज नआउने समस्या बढी मात्रामा रहेको छ । ४० प्रतिशत विद्युत् चुहावट रहेको यो वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा पूर्वपश्चिम राजमार्गस्थित नवलपुर ग्रिड सबस्टेसनबाट तानिएको ३३ केभी लाइनमा बारम्बार खराबी आउँदा घन्टौँसम्म विद्युत् अवरुद्ध हुने गरेको छ । सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका सेख जमसैद आलमले दिनभरमा १५/१६ पटक नै विद्युत् कटौती हुने गरेको गुनासो गर्नुभयो ।
बिजुली चालु रहेको समयमा भोल्टेज नआउने समस्या रहेको जमसैदको भनाइ छ । “बारम्बार बत्ती कटौती हुँदा रातभर विद्युत् मोटर अन अफ गर्न कुदिरहनु पर्छ,” उहाँले भन्नुभयो, “अधिकांश समयमा त भोल्टेज नआएर मोटर नै चल्दैन ।”
भोल्टेजको समस्याबारे नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रलाई बारम्बार जानकारी गराउँदा पनि समस्या समाधान नभएको स्थानीयले गुनासो गरेका छन् । गर्मीमा विद्युत् अनियमित र भोल्टेजको समस्याले सर्वसाधारण थप मारमा परेका छन् ।
हरिपुर नगरपालिका–९, पिडारीका सुवाइ रायले गर्मीको समयमा बारम्बार लाइन काटिरहने र भोल्टेज नहुने समस्याले आजित भइरहेको बताउनुभयो । उहाँले भोल्टेजको समस्याले पङ्खा, मोटरलगायतका विद्युतीय उपकरण सञ्चालन गर्न समस्या परिरहेको गुनासो गर्नुभएको छ । यसअघि नियमित विद्युत् प्रवाह भइरहेकोमा पछिल्ला केही हप्तादेखि असाध्य अनियमित भएको रायले जानकारी दिनुभयो । विद्युतीय मोटरको प्रयोग बढेपछि जताततै नयाँ ट्रान्सफर्मरको माग हुन थालेको छ ।
विद्युत् प्राधिकरणले ट्रान्सफर्मरको माग धान्न सकिरहेको छैन । ईश्वरपुर नगरपालिका–१०, बेलाका वडाध्यक्ष रासनारायण चौधरीले भोल्टेज नपुगेर किसानलाई मोटर चलाउनै समस्या भएपछि नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रमा नयाँ ट्रान्सफर्मर माग गरे पनि नपाएको बताउनुभयो । सर्लाहीमा अहिले लालबन्दी, हरिवन र मलङ्गवा तीन वटै वितरण केन्द्रमा ५३ एमभिएको हाराहारीमा लोड पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेशप्रसाद यादवले तार र अन्य संरचनाले धान्नै नसक्ने गरी लोड बढेकाले विद्युत् अनियमित हुने र भोल्टेज नआउने समस्या बढेको स्वीकार गर्नुभयो ।