अमरराज नहर्की
तनहुँ, असोज २२ गते । तनहुँको एक सामुदायिक वनले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाउने भएको छ । देवघाट गाउँपालिका–५ को मधुवन सामुदायिक वन उपभोक्ता समूह दोस्रो पुरस्कारका लागि छनोट भएको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।
नेपालभरिका २३ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहमध्येबाट यस वर्षको उत्कृष्ट दोस्रो स्थान प्राप्त गर्ने पण्डितले जानकारी दिनुभयो । पण्डितले भन्नुभयो, ‘‘दिगो वन व्यवस्थापन, सफल कार्ययोजना कार्यान्वयन र उत्कृष्ट कार्य सम्पन्न गरे वापत दोस्रो स्थान भएको हो ।’’ सामुदायिक वन विकास कार्यमा उत्कृष्ट कार्य गर्ने सामुदायिक वन उपभोक्ता समूहलाई वन विभागले हरेक वर्ष राष्ट्रिय स्तरको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । तनहुँ जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहहरुमध्ये उत्कृष्ट कार्य सम्पादन गरेको यस उपभोक्ता समितिले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार कार्यविधिमा रहेको आधार र सूचकहरुको आधारमा मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्ने निर्णय भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।
मधुवन सामुदायिक वन समुहले वातावरण संरक्षणको क्षेत्रमा निकै उत्कृष्ट काम गर्दै आएको छ । मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीले मधुवन समूहले पुरस्कार प्राप्त गर्ने निर्णय समग्र तनहुँ जिल्लाकै गौरवको विषय भएको बताउनुभयो । यो निर्णयले आफूहरुलाई दिगो वन व्यवस्थापन, सामुदायिक वन विकास कार्य तथा सफल कार्ययोजना कार्यान्वयनका लागि थप प्रेरणा मिलेको बताए । उक्त पुरस्कार साउन २७ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । यस सामुदायिक वनले उपभोक्ताको आयमा वृद्धि गर्न सामूहिक जडीबुटी खेती सुरुवात गरेको छ ।