• २१ साउन २०८२, बुधबार

एनपिएल खेलाडीको अक्सन सूची सार्वजनिक

blog

फाइल तस्बिर ।

काठमाडौँ, साउन २१ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार खेलाडीको सूची सार्वजनिक गरेको हो ।

अक्सनको अन्तिम सूचीमा एक सय ५० खेलाडी रहेका छन् । यसअघि अक्सनका लागि चार सय ५८ खेलाडीले नाम दर्ता गराएका थिए । जसबाट एनपिएलमा सहभागी आठ फेन्चाइजी टोलीले इच्छाएका र क्यानका प्राविधिक टोलीले बनाएको मापदण्डमा परेका एक सय ५० खेलाडीलाई अक्सनको अन्तिम सूचीमा समावेश गरिएको हो ।

क्यानले अक्सन शनिबार गर्ने जनाएको छ । अक्सनको श्रेणी ‘ए’ मा आठ जना खेलाडी छन् । श्रेणी ‘बी’ मा ३५ र श्रेणी ‘सी’ मा एक सय सात खेलाडी  छन् । अक्सनमा रहेका खेलाडीबाट जम्मा ३७ खेलाडीका लागि बोली लाग्नेछ ।

श्रेणी ‘ए’ को सुचीमा रहने मोहम्मद आदिल आलमसहित सुनाम गौतम, सूर्य तामाङ, शरद भेषावाकर, पवन सर्राफ, देव खनाल, दीलिप नाथ र अर्जुन साउद हुनुहुन्छ ।

जसमा श्रेणी ‘ए’ बाट चार, ‘बी’ बाट २३ र ‘सी’ बाट १० खेलाडीले मौका पाउनेछन् । फेन्चाइजी टोलीले यसअघिनै कप्तान र मार्की खेलाडी चयन गर्नुका साथै कतिपय खेलाडी अघिल्लो संस्करणमा रहेकालाई निरन्तरता दिलएका छन् ।

अक्सनमा श्रेणी ‘ए’ मा रहने खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपियाँ छ । यस्तै श्रेणी ‘बी’को न्यूनतम पाँच लाख र अधिकतम १० लाख तथा श्रेणी ‘सी’ न्यूनतम दुई लाख र अधिकतम पाँच लाख रुपियाँ छ ।