काठमाडौँ, साउन २१ गते । नेकपा एमाले ले आगामी भदौ २० देखि २२ गते हुने दोस्रो विधान महाधिवेशनमा चार वटा मुख्य कार्यसूचीमा छलफल हुने भएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र केन्द्रीय निकायका रूपमा रहेका चार सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन प्रस्तुत हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ ।
यस्तै महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा र सल्लाहकार परिषद्का अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन प्रस्तावका लागि एमालेले सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल गरी अन्तिम रूप दिएर सुझावका लागि मातहतका कमिटीमा पठाएको छ । देशभरिबाट प्राप्त सुझावका आधारमा उपाध्यक्ष पौडेल नेतृत्वको समितिले मस्यौदालाई अन्तिम रूप दिने छ ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सन्राइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदै छ । प्रचारका लागि केन्द्रीय प्रचार विभाग प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको संयोजकत्वमा प्रचार उपसमिति गठन भएको छ । कार्यदलमा केन्द्रीय प्रचार विभाग सदस्य गणेश बस्नेत, गणेश पाण्डे, श्रीधर आचार्य, चेतन अधिकारी, दीपक ज्ञवाली, विश्वमणि सुवेदी रहनुभएको छ । रासस