• १२ असोज २०८१, शनिबार

लेवनानका राष्ट्रपतिसँग प्रधानसेनापति शर्माको भेटवार्ता

blog

काठमाडौं, असार ८ गते। लेवनानको भ्रमणमा रहनुभएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका राष्ट्रपति मिसेल औनसँग शिष्टाचार भेट गर्नुभएको छ। 

बुधबार उहाँले त्यहाँका राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालय जंगी हड्डाले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

 भेटमा लेवनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकको योगदानको प्रशंसा गर्नुभएको छ। लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकले गरेको बलिदानको प्रशंसासमेत त्यहाँका राष्ट्रपति औनले गर्नुभएको छ। 

नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय समुदायसँग गरेको उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनामा नेपाली सेनाको योगदानको उच्च प्रशंसा गर्नुभएको छ। सोहीक्रममा प्रधानसेनापति शर्माले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको सद्भावना सन्देश जानकारी गराउनुभएको छ। उक्त सन्देशमा लेवनानी सरकारले नेपाली शान्ति सैनिकलाई गरेको समर्थन तथा सहयोगका लागि धन्यवाद व्यक्त गरिएको छ। 

राष्ट्रपति औनसँगको भेट लगत्तै त्यहाँको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गर्दै प्रधानसेनापति शर्मा बुधबार यूएन मिशन सिरियातर्फ प्रस्थान गर्नुभएको छ। प्रधानसेनापति शर्माले उक्त मिसनका प्रमुखसँग र टिमसँग भेटवार्ता गर्नुहुनेछ। 

असार ४ गते लेवनान प्रस्थान गर्नुभएका प्रधानसेनापति शर्मा असार १३ गते अमेरिका प्रस्थान गर्नुहुनेछ। अमेरिका भ्रमण सकेर शर्मा असार १९ गते स्वदेश फिर्ता हुनुहुनेछ।