• ११ वैशाख २०८१, मङ्गलबार

संवैधानिक नियुक्तिविरुद्धको रिटमा सक्कल फाइल मगाउने आदेश

blog

काठमाडौं, असार ८ गते । सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सक्कल फाइल मगाउने आदेश गरेको छ ।

बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले संवैधानिक परिषद्को निर्णयको सक्कल मिसिल झिकाउन पुनः आदेश दिएको हो ।

यसअघि पनि संवैधानिक इजलासले सोही आदेश दिएको थियो । परिषद् कार्यालयबाट उक्त मिसिल उपलब्ध नभएपछि पुनः आदेश दिइएको हो ।

संवैधानिक नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेल र कीर्तिनाथ शर्मा पौडेलले दायर गर्नुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्याविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो । उक्त नियुक्ति दिइएको भन्दै २०७७ मङ्सिर १ गते अधिवक्ता ओमप्रकाश अर्याल र मङ्सिर २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।