• १९ साउन २०८२, सोमबार

पहिरोले पुर्‍यो दिव्रुङ्ग स्वास्थ्यचौकी

blog

पहिरोले क्षतिग्रस्त चन्द्रकोट गाउँपालिका–१ का दिव्रुङ्ग स्वास्थ्यचौकी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, साउन १९ गते ।
शनिबार र आइतबारको बर्सातले दिव्रुङ्ग स्वास्थ्यचौकी पुरेको छ । पहिरोले चन्द्रकोट गाउँपालिका–१ दिव्रुङ्गको दिव्रुङ्ग स्वास्थ्यचौकीको भवन पुरेपछि प्रसुती कक्ष पूर्ण रुपमा क्षति भएको छ । प्रसुती कक्षबाट सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको दिव्रुङ्ग स्वास्थ्यचौकीका अहेव जीवन पुन मगरले जानकारी दिनुभयो ।

त्यस्तै माथिबाट आएको ठुलो पहिरोका कारण स्वास्थ्यचौकी भित्र पानीसहित पहिरो पसेपछि सामग्रीहरुमा क्षति पुगेको छ । अझैपनि लेदोसहितको पहिरो खस्ने क्रम रहेकाले जोखिमपूर्ण अवस्थामा सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको अहेव पुन मगरले बताउनुभयो ।

स्वास्थ्यचौकीमा दैनिक २० जना सेवाग्राही आउने गरेका छन् । दिव्रुङ्ग स्वास्थ्यचौकीको नयाँ भवन निर्माणको काम नसकेकाले सवै सेवा पुरानै संरचनाबाट हुँदै आएको छ । चन्द्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम खरेलले प्रहरी र गाउँपालिकासँग समन्वय भइरहेकाले क्षति र अवस्था हेरेर सेवा प्रवाह गरिने बताउनुभयो ।

बर्सातसहितको पहिरोले जिल्लाको कालिगण्डकी करिडोर र रिडीरुद्रवेणी सडक अवरुद्ध भएको छ । करिडोरको तीन स्थान र रिडी–रुद्रवेणी–वामीको दुई स्थानमा पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगा बहादुर सारुका अनुसार अहिलेसम्म रिडी–तम्घास सडक सुचारु भएपनि करिडोर र रिडी–रुद्रवेणी–वामी सडक संचालनको प्रयास भइरहेको छ ।