• १९ साउन २०८२, सोमबार

रोपाइँमा व्यस्त मधेशका किसान

blog

पानी परेपछि धान रोप्दै किसान । इन्सेटमा गोरुले खेत हिल्याउँदै । तस्बिर : धीरेन्द्रप्रसाद साह

मधेश प्रदेश ब्युरो 

जनकपुरधाम, साउन १९ गते । लामो प्रतीक्षापश्चात् सुक्खाग्रस्त मधेश प्रदेशमा दुई दिनदेखि पर्याप्त वर्षा भएपछि किसान रोपाइँमा व्यस्त भएका छन् । वर्षाले बाँकी रहेको खेतमा रोपाइँ गर्न र रोपिसकेको रोपो सुक्नबाट जोगिएको भन्दै किसानले खुसी व्यक्त गरेका छन् ।

अहिलेसम्म नहर, कुलोपैनी, स्यालो ट्युबेल, डिप बोरिङलगायतको सहाराले रोपाइँ गर्दै आएका किसानलाई वर्षाले खुसी बनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालका अनुसार पछिल्ला दिनमा मधेश प्रदेशका सबै जिल्लामा वर्षा भएको छ । उहाँले सर्लाही, रौतहट, महोत्तरी, सिराहा, धनुषा र सप्तरीमा दुई दिन राम्रो वर्षा भए पनि बारा र पर्सामा भने अन्य जिल्लाको तुलनामा कम वर्षा भएको बताउनुभयो ।

सचिव दाहालले अब रोपाइँ गरिने क्षेत्रमा वृद्धि हुने बताउनुभयो । उहाँका अनुसार पानी पर्ने क्रम कायम रहेकाले साउनभित्रै बाँकी खेतमा पनि रोपाइँ सकिने छ । ढिलो भए पनि यो वर्षाले मधेशका किसान उत्साहित देखिएका उहाँको भनाइ छ । 

कृषि विकास निर्देशनालय मधेश प्रदेशका प्रमुख जितेन्द्र यादवका अनुसार साउन १६ सम्ममा मधेश प्रदेशमा धान खेती हुने जमिनमा ५७ प्रतिशत रोपाइँ भइसकेको र दुई दिनदेखि परेको पानीका कारण रोपाइँको प्रतिशत निरन्तर बढ्ने बताउनुभयो । मधेश प्रदेशमा कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । वर्षाका कारण भूमिगत पानीको सतहसमेत बढेर सुकेका हाते कलमा समेत पानी आउन लागेपछि खानेपानीको समस्या केही हदसम्म समाधान भएको स्थानीयको भनाइ छ । पानी परेर मौसम चिसिएकाले तराई/मधेशका जिल्लामा गर्मी निकै कम भएको छ । 

गोरखापत्रका जनकपुर समाचारदाता धीरेन्द्र साहका अनुसार शनिबारदेखि हिलाम्मे हुने गरी पानी परेकाले किसान धान रोपाइँमा व्यस्त भएका छन् । सबै काम छोडेर धानको ब्याडमा बिउ काढ्न र खेत हिलाम्मे पार्न आइतबार बिहानैदेखि लागिपरेको धनुषा सबैलाका लोचन साहले बताउनुभयो । सुक्खा अवस्थामा पानी पर्ने आस र भरोसा गरेर जेनतेन ब्याडलाई जोगाइराखेकाले अहिले रोपाइँमा बिउ काम लाग्ने भएको अर्का किसान बिजली साहले बताउनुभयो । 

ढल्केबर समाचारदाता विजय साहका अनुसार लामो समयको खडेरीले सुक्खा भएको खेतमा हिल्याउन पुग्ने वर्षा भएपछि धनुषाका किसान धान रोपाइँमा जुटेका छन् । पछिल्लो समय भएको वर्षा किसान र धानबालीका लागि वरदान नै भएको र यसले किसानलाई मद्दत पुगेको ढल्केबरका किसान रामएकवाल यादवको भनाइ छ । 

महोत्तरी समाचारता नागेन्द्रकुमार कर्णका अनुसार पानी पर्न थालेपछि महोत्तरीमा पनि रोपाइँको काम सुचारु भएको छ । धान रोपेको खेतमा धाँजा पर्न थालेका थिए तर यो पानीले खेत भिजेको मात्रै नभई खेतमा पानीसमेत जमेको छ । स्थानीय किसान बेचन ठाकुरले पानी पर्न थालेपछि बिउ उखेल्ने काम धमाधम भएको बताउनुभयो । पानी अभावमा महोत्तरीमा अहिलेसम्म ३९.७३ प्रतिशत मात्रै रोपाइँ भएको देखिएको छ । महोत्तरीमा ४२ हजार पाँच सय हेक्टर क्षेत्रफल धान खेतीयोग्य जग्गामध्ये १५ हजार ८९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

सर्लाही समाचारदाता जनार्जन खत्रीका अनुसार सर्लाहीमा चुरेवर्ती क्षेत्रमा एक सातामै तीन पटक पर्याप्त वर्षा भएको छ । पूर्वपश्चिम राजमार्ग क्षेत्र र दक्षिणी भेगमा भने वर्षा हुन सकेको थिएन । शनिबार राति सबै भेगमा जमिन भिज्ने गरी पानी परेपछि किसान खुसी देखिन्छन् ।  कविलासी नगरपालिका–७, सिर्सियाका रामआश्रित महतोले अत्यधिक सुक्खा हुँदा मोटर चलाएर मुस्किलले रोपाइँ गरिएको र अहिले आकासे वर्षा भएपछि धान बालीलाई अृमतसरह काम गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाका अनुसार अहिलेसम्म जिल्लाभर ७० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको छ । 

महोत्तरीको गौशाला समाचारदाता अजय साहका अनुसार लामो समयदेखि पानीको पर्खाइमा रहेका महोत्तरीका किसानलाई वर्षाले खुसी दिएको छ । जिल्लामा रोपाइँ गर्न बाँकी रहेको भूभागमा रोपाइँ सुरु भएको छ । वर्षाले उत्तरी भेगका खोलामा बाढी आएर चुरे भेगमा पुल नरहेका र कच्ची बाटो रहेको क्षेत्रमा आउजाउ गर्न भने समस्या भएको छ । 

सिराहाको लहान समाचारदाता जीवछ यादवका अनुसार दुई दिनको वर्षाले  राष्ट्रिय राजमार्गदेखि उत्तरी भेगमा धान रोपाइँ सुरु भएको छ । विद्युतीय मोटरबाट सिँचाइ नहुने उत्तरी भेगमा आकासे पानीका भरमा धान खेती गर्नुपर्ने बाध्यता रहँदै आएको र वर्षा भएपछि सो समस्या समाधान भएको हो । किसानले जसोतसो जोगाएका बेर्नाबाट रोपाइँ सुरु गरेका छन् । 

सप्तरीको कल्याणपुर समाचारदाता विनय कर्णका अनुसार सप्तरीमा धेरै जसो किसानले आकासे पानीका भरमा खेती गर्दै आएकामा दुई दिनको वर्षाले रोपाइँमा मद्दत पुगेको छ ।  सप्तरीमा कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जमिनमध्ये ६८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा वर्षा नहुँदा ४० प्रतिशत जमिनमा मात्र रोपाइँ हुन सकेको थियो ।