• १९ साउन २०८२, सोमबार

काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा सुक्दै पानीका स्रोत

blog

नमोबुद्ध नगरपालिका–९, नेपानेमा रहेको भलेवती कुवामा पानी भर्दै एक महिला । तस्बिर सौजन्य : अञ्जु पण्डित

केदार तिमल्सिना  
बनेपा, साउन १९ गते ।
पछिल्ला केही वर्ष काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्थानीय तहमा खानेपानीका स्रोतहरू सुक्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा जिल्लास्थित स्थानीय तहहरूले गरेको पानीका स्रोतको सर्वेक्षणले जिल्लाका अधिकांश स्थानीय तहमा रहेका खानेपानीका मुल तथा पोखरी सुक्दै गएको देखिएको हो ।

इसिमोडको प्राविधिक सहयोगमा जिल्लाको नमोबुद्ध, पाँचखाल, धुलिखेल, पनौती नगरपालिका र बेथानचोक, रोसी र तेमाल गाउँपालिकाले आफ्नो स्थानीय तहमा रहेका पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा सर्वेक्षण गरेका थिए । सर्वेक्षणले यी सात वटा स्थानीय तहमा भूकम्पका कारण ३४ प्रतिशत, सुख्खा खडेरीका कारण ३१ प्रतिशत, पूर्वाधार विकासका कारण १६ प्रतिशत, मुलको बेवास्ताका कारण नौ प्रतिशत, बाढीपहिरो जस्ता प्राकृतिक विपदबाट सात प्रतिशत र अन्य कारणबाट तीन प्रतिशत मुल तथा पोखरी सुकेको देखाएको इसिमोडकी मूलाधार व्यवस्थापन विश्लेषक अञ्जु पण्डितले जानकारी दिनुभयो ।

उहाँले काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहसँग सम्झौता नै गरेर सन् २०२३ नोभेम्बरदेखि आठ महिना अर्थात् सन् २०२४ को जुन महिनासम्म सात वटा स्थानीय तहमा रहेका मुल तथा पोखरीको सर्वेक्षण (तथ्याङ्क सङ्कलन) गरेको बताउनुभयो । पण्डितले आठ महिनाको अवधिमा सात वटा स्थानीय तहमा रहेका पाँच हजार १६८ मूल तथा मुहान र ५२१ वटा पोखरी गरी कुल पाँच हजार ६८९ वटा स्रोतको पहिचान गरिएको बताउनुभयो ।

जिल्लाका सात स्थानीय तहमा गरिएको सर्वेक्षणअनुसार २७ प्रतिशत अर्थात् एक हजार ५२१ स्रोतहरू सुकेको देखाएको छ । सर्वेक्षणले ती स्थानीय तहमा मुलको तुलनामा पोखरीहरू धेरै सुकेको देखाएको इसिमोडले जनाएको छ । सर्वेक्षणले सुकेको बाहेकका स्रोतहरूमध्ये ५८ प्रतिशत स्रोतमा विगतको तुलनामा पानीको बहाव घट्दै गएको देखाएको मूलाधार व्यवस्थापन विश्लेषक पण्डितले बताउनुभयो । स्थानीय तहहरूसँग आफ्नो स्थानीय तहमा कति पानीका स्रोत छन्, तिनीहरूको अवस्था के कस्तो रहेको छ भन्ने जानकारी नभएका कारण पनि खानेपानीका स्रोतहरू संरक्षण नहुँदा पानीका मुहान सुक्ने क्रम बढेको हो ।

सर्वेक्षणमा जिल्लाको बेथानचोक गाउँपालिकामा ३७७ वटा मुल तथा आठ वटा पोखरी गरी ३८५ वटा स्रोतको पहिचान गरिएकोमा १९ प्रतिशत अर्थात् ७४ वटा स्रोत सुकेका छन् । धुलिखेल नगरपालिकामा एक हजार ६४ वटा मुल तथा १११ पोखरी गरी कुल एक हजार एक सय ७४ वटा स्रोतको मापन गरिएकोमा २९ प्रतिशत स्रोत सुकेको देखाएको छ । रोशी गाउँपालिकामा ९२४ वटा मुल तथा ४६ वटा पोखरी गरी कुल ९६९ स्रोत पहचिान गरिएकोमा २२ प्रतिशत स्रोत सुकेको देखाएको छ ।

नमोबुद्ध नगरपालिकामा ४४८ वटा मुल तथा ३० पोखरी गरी कुल ४७८ स्रोत पहिचान गरिएकोमा २० प्रतिशत स्रोत सुकेको देखिएको छ । पनौतीमा ८५४ वटा मुल र २६ पोखरी गरी ८८० स्रोत मापन गरिएकोमा नौ प्रतिशत स्रोत सुकेको सर्वेक्षणले देखाएको छ । त्यसैगरी जिल्लाको तेमाल गाउँपालिकामा गरिएको सर्वेक्षणमा ६६५ वटा मुल तथा ७२ वटा पोखरी गरी कुल ७७३ वटा स्रोत पहिचान गरिएकोमा ४० प्रतिशत स्रोत सुकेको पाइएको छ ।

पाँखखाल नगरपालिकामा गरिएको सर्वेक्षणले ८३६ वटा मुल तथा २२८ पोखरी गरी कुल एक हजार ६४ स्रोत पहिचान गरेकोमा ४० प्रतिशत स्रोत सुकेको देखाएको छ । सर्वेक्षणले सात वटा स्थानीय तहमा गरिएको सर्वेक्षणमध्ये तेमाल र पाँचखालमा रहेका धेरै  स्रोतहरू सुकेको देखाएको छ । इसिमोडले जिल्लामा सन् २०१६ देखि खानेपानीको क्षेत्रमा कामा गर्दै आएको छ । इसिमोडले हिन्दुकुश हिमालय क्षेत्रमा पर्ने भारत, नेपाल र भुटानमा पानीको क्षेत्रमा काम गर्दै आएको छ भने बङ्गलादेश र पाकिस्तानको पहाडी क्षेत्रमा पानीको क्षेत्रमा काम सुरु गर्न लागेको जनाएको छ ।