• १९ साउन २०८२, सोमबार

खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन १९ गते  । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । 

स्थानीयको बसाइँ सर्ने क्रम बढ्नु र लिमीमै बस्ने भए पनि चीनको ताक्लाकोट काम गर्न जाने सङ्ख्या बढेपछि स्थानीयले खेती गर्न छोड्दा जग्गा बाँझो हुने क्रम बढेको हो । लिमीका वडा सदस्य तिलगाउँका स्थानीय पेन्पातुण्डुप लामाले बर्सेनि खेतीयोग्य जमिन बाँझो हुने क्रम बढिरहेको बताउनुभयो । 

उहाँले केही जग्गा तिल बस्तीका स्थानीयले छोडेर काठमाडौँ गएपछि बाँझिएको र केही स्थानीय चीनको ताक्लाकोट गएर काम गर्ने भएकाले गाउँको जग्गामा खेती गर्न छोडिएको जानकारी दिनुभयो । 

यसरी तिलगाउँमा मात्र ३० हल जग्गा खेती गर्न छोडिएपछि बाँझिएको बताउँदै उहाँले यसको समाधानको उपाय आफूसँग नभएको उल्लेख गर्नुभयो । यसै गरी जाङगाउँको सबै जग्गा बाँझिएको स्थानीय कुन्जोक तामाङले बताउनुभयो । यतिबेला उवा बाली फलेको देखिनुपर्ने जाङगाउँको खेतीयोग्य जमिन सबै बाँझो भएर झारपात मात्र उम्रिएको अवस्था छ । उक्त गाउँमा मात्र ७० हलभन्दा बढी खेतीयोग्य जग्गा बाँझो रहेको छ । 

यता सबैभन्दा बढी घरधुरी रहेको हल्जीगाउँमा पनि जग्गा बाँझिने क्रम बढिरहेको सो गाउँका स्थानीय कोनुर्बु तामाङले बताउनुभयो । यसै वर्ष हल्जीगाउँ छोड्नुभएका दुई घरधुरी र अरू ताक्लाकोट काम गर्न गएका स्थानीयको जग्गा सबै बाँझो रहेको जानकारी उहाँले दिनुभयो । जग्गाको उत्पादनले छ महिना खाना नपुग्ने भएपछि खेतीपाती छाडेर अन्यत्र काम गर्न जानुपर्ने बाध्यता छ । हल्जीगाउँमा पहिलो पटक जग्गा बाँझो छ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङ लिमीको खेतीयोग्य जमिन बाँझो रहनुभनेको लिमी विस्तारै मानिसविहीनको अवस्थामा रहेको देखिएको बताउनुभयो ।

बेलैमा गाउँपालिका, प्रदेश सरकार र सङ्घ सरकारले नसोच्ने हो भने भोलि लिमीमा बस्ती थियो भन्ने इतिहासमा अध्ययन गर्नुपर्ने अवस्था नआउला भन्न नसकिने उहाँले बताउनुभयो ।  लिमीका कुनै बस्ती मात्र नभएर सिङ्गो वडाका लागि जग्गा बाँझो हुँदै जानु दुःखद विषय हुने उहाँको भनाइ छ ।