प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन १८ गते । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन साउन २१ गते बुधबारका दिन हुने भएको छ । शनिबार भएको संघको २८ औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनपछि आइतबार संघको आगामी नेतृत्वको उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । निर्वाचन समिति संयोजक अधिवक्ता दिलिप कोइरालाका अनुसार संघमा नबिकरण गरेका सदस्यको सङ्ख्या एक हजार ९३ रहेको छ ।
हालका अध्यक्ष उदय नारायण सापकोटाले पुनः अध्यक्ष दोहोर्याउने कुरामा सहमति खोजे पनि संघका बहुसंख्यक सदस्य निर्वाचनको पक्षमा रहेकोले निर्वाचन हुन लागेको छ ।
संघमा कुल चार हजार १५ सदस्य रहे पनि नवीकरण गराएको सदस्य सङ्ख्या एक हजार ९३ रहेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
केही नाम दोहिरिएको कुरा आएकाले त्यसलाई संशोधन गरिने उहाँले बताउनुभयो । संघका सहसचिव सुनिल कुमार चौधरीका अनुसार निर्वाचनमा दुई वटा प्यानल रहने सम्भावना रहेको बताउनुभयो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीको एउटा प्यानल तथा राष्ट्रिय स्वतन्त्र पार्टीको छुट्टै प्यानल रहने सम्भावना देखिएको उहाँको भनाइ छ ।
मधेश प्रदेश सरकारका पूर्व उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई समिरले सबैको साथ र सहयोगले चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भव्य भवन निर्माण भएकाले एउटा अमुख व्यक्ति वा पार्टीको सहयोगमा भएको भनेर मिथ्या प्रचारवाजी गर्नु नियतवश रहेको टिप्पणि गर्नुभयो ।
संघको पदाधिकारी भएपछि सबैको प्रतिनिधित्व हुने गरेकाले म यो पार्टीबाट निर्वाचित भनेर प्रस्तुत हुनु उचित नरहेको उहाँले बताउनुभयो । सङ्घीय सरकार शहरी विकास मन्त्रालयबाट चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवन निर्माणका लागि आएको ५० लाख बजेटले चिडियादहमा भवन बनाउँदा समेत संघका पदाधिकारीले विरोध गर्नुको सट्टा टुलुटुलु हेरेर बस्नु दुःखद रहेको उहाँको भनाइ छ ।