ढल्केबर समाचारदाता
ढल्केबर, साउन १८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार सिन्धुलीको खुर्कोटमा निर्माण भइरहेको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँसँगै प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवसहित उच्चस्तरीय टोलीले डाइभर्सनको निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहले निर्माणको अवस्थाबारे जानकारी लिँदै समयमै कार्य सम्पन्न गर्न निर्माण कम्पनीका ठेकेदारलाई निर्देशन दिनुभएको सिँचाइमन्त्री यादवले बताउनुभयो । उहाँले सुनकोशी–मरिण डाइभर्सन मधेश प्रदेशको जीवनदायी योजना भएकाले बाँकी काम समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो योजना मधेशका लाखौँ किसानका लागि जीवनरेखा हो तर योजनाको प्रगति सुस्त छ ।” निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणमा देखिएको ढिलासुस्ती, प्राविधिक समस्याका विषयमा छलफल भएको मन्त्री यादवले बताउनुभयो ।
सो परियोजना अन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी बागमती नदीको सहायक नदी मरिणमा ल्याएर मधेशका रौतहट, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा र पर्सामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याउने सरकारको लक्ष्य रहेको छ । यो आयोजना ४९ अर्ब ४२ करोड रुपियाँको लगानीमा निर्माण भइरहेको छ । निर्माण थालेको २८ महिना बित्दा प्रगति सात प्रतिशत मात्र रहेको छ । अब बाँकी ९३ प्रतिशत काम २७ महिनाभित्र अर्थात् २०८४ भदौभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।