• १७ साउन २०८२, शनिबार

सञ्चालन हुँदै अलपत्र योजना

blog

मन्त्री शेषनारायण यादवसहितको टोलीद्वारा खानेपानी योजना अनुगमन गरिँदै ।

ढल्केबर समाचारदाता 

ढल्केबर, साउन १७ गते  । धनुषाको मिथिला नगरपालिका–५, विश्रामपुरमा १० वर्षदेखि अलपत्र अवस्थामा रहेको खानेपानी योजना सञ्चालन हुने भएको छ । गाउँमा खानेपानीको सङ्कट उत्पन्न भएपछि तत्काल वैकल्पिक विधिबाट सञ्चालनमा ल्याउन लागिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले विश्रामपुरका ६१८ घरधुरीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यसहित २०७२ सालमा सो योजनाको काम सुरु गरेको थियो । योजना अन्तर्गत ओभरहेड ट्याङ्की निर्माण, विद्युत् जडान, कर्मचारी भवन निर्माण, कार्यालय परिसरको घेरबार भइसकेको छ भने डिप बोरिङ र पाइपलाइन विस्तारको काम बाँकी छ । 

शुक्रबार खानेपानी योजनाको मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवसहितको टोलीले अनुगमनसमेत गर्नुभयो । अनुगमनका व्रmममा मन्त्री यादवले उत्पन्न खानेपानीको समस्यालाई दृष्टिगत गर्दै डिप ट्युबेल जडान गरेर वैकल्पिक विधिबाट खानेपानी  वितरण गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “तत्कालै योजना सम्पन्न गरेर पानी वितरण गर्ने अवस्था छैन । त्यसैले जमिनमाथि नै पाइप विस्तार गरेर तथा ठाउँ ठाउँमा धारा जडान गरी पानी उपलब्ध गराउँछौँ । यसका लागि आजैदेखि प्राविधिक टोली खटाउन भनिसकेका छौँ । यसले विश्रामपुरमा खानेपानीको समाधान हुने मन्त्री यादवले बताउनुभयो । 

वडाध्यक्ष रामचन्द्र महतोले खानेपानी योजना सञ्चालनमा नआउँदा स्थानीय बासिन्दाले खानेपानीको चरम अभाव झेल्नु परेको कुरा टोलीसमक्ष राख्नुभयो । उहाँले योजनालाई तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्दै वडा कार्यालयका तर्फबाट १५ लाख रुपियाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले पनि खानेपानी योजना शीघ्र सञ्चालन गर्नुपर्ने बताउँदै नगरपालिकाका तर्फबाट १५ लाख रुपियाँ उपलब्ध गराउने घोषणा गर्नुभयो ।

खानेपानी योजना निर्माणमा ढिलाइ हुँदा स्थानीयले खानेपानीका लागि सास्ती खेप्नु परेको छ । इनारको दूषित पानी प्रयोग गर्न बाध्य छन् भने कतिपय इनार सुकेर खानेपानीको समस्या हुने गरेको स्थानीयको भनाइ छ । 

टोलीमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनीलकुमार यादव, सचेतक कुवरकान्त झा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जलेश्वरका कर्मचारी सहभागी हुनुहुन्थ्यो ।