• १७ साउन २०८२, शनिबार

बनाना रिसोर्टमा आगलगी

blog

आगलगीले जलेर नष्ट भएको रौतहटको ईशनाथ नगरपालिका–२ स्थित बनाना रिसोर्ट । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), साउन १७ गते ।
रौतहटको ईशनाथ नगरपालिका–२ स्थित बनाना रिसोर्ट (केराबारी) मा आगलगी भएको छ ।

आगलगीका कारण रिसोर्टमा रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रहरी चौकी औरियाका प्रहरी सहायक निरीक्षक रामबालक साहले जानकारी दिनुभयो । रिसोर्टका सञ्चालक राकेश गुप्ताका अनुसार आगलगीबाट करिब ४० लाख रूपियाँ बराबरको क्षति भएको छ ।

आगलगीबाट १५ लाख रूपियाँ बराबरको कृषि उपकरण, खाद्यान्न, फर्निचर, फ्रिज, इलेक्ट्रोनिक सामग्रीहरु जलेर पूर्णरूपमा नष्ट भएको छ  । साथै २५ लाख लागतमा तयार गरिएको घर समेत जलेर नष्ट भएको रिसोर्टका सञ्चालक  गुप्ताले बताउनुभयो ।

रिसोर्टको घर निर्माणका लागि इशनाथ नगरपालिका औरैयाले ५० प्रतिशत लागत साझेदारीमा नेपाल सरकार सशर्त अनुदानबाट सहयोग उपलब्ध गराएको थियो ।

स्थानीय, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नगरपालिकाको मिनी दमकल टोलीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको आशङ्का रहे पनि घटनाको अनुसन्धान भइरहेको प्रहरी चौकी औरैयाका प्रहरी सहायक निरीक्षक साहले बताउनुभयो ।