• १६ साउन २०८२, शुक्रबार

निजी आवासको विस्तृत क्षति आकलनको काम अधुरै

blog

गत असोजको दोस्रो साता आएको बाढीले क्षति गरेको पनौती नगरपालिका–१२ स्थित एक घर ।

बनेपा समाचारदाता 

बनेपा, साउन १५ गते  । बाढीपहिरो  गएको १० महिना बितिसक्दा पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । गत वैशाख ३ गते गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट क्षति भएका निजी आवासको विस्तृत क्षति आकलन (डिडिए) कार्यक्रमको सुरुवात गरे पनि हालसम्म उक्त पालिकाबाहेक अन्य पालिकामा क्षति भएका घरको डिडिए गर्ने काम सम्पन्न हुन सकेको छैन । 

बाढीपहिरोबाट क्षति भएका निजी आवासको डिडिए सम्पन्न नभएका कारण बाढीपहिरोपीडित नागरिकले बसोबासका लागि घर निर्माण गर्न सकेका छैनन् । सरकारले निजी आवास पुनर्निमार्णका लागि उपलब्ध गराउने रकम पाउने टुङ्गोसमेत लागेको छैन । बाढीपहिरोबाट पीडित बनेका नागरिकले आवास निर्माणका लागि सरकारबाट रकम नपाउँदा आफन्तको घरमा तथा भाडामा बस्न बाध्य भएका छन् । 

बाढीपहिरोबाट निजी आवास क्षति भएको रोसी गाउँपालिकाको डिडिए सकिएको छ । नमोबुद्ध नगरपालिका, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, तेमाल, चौँरीदेउराली, भुम्लु, खानीखोला, महाभारत गाउँपालिकालगायतका प्रभावित स्थानीय तहको भने विस्तृत क्षति आकलनको पूर्ण तथ्याङ्क आउन सकेको छैन । रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोले क्षति गरेका गाउँपालिकाभित्रका ५६३ घरको डिडिए गरिएको बताउनुभयो । 

उहाँँले डिडिएबाट प्राप्त नतिजा अनुसार गाउँपालिकाभित्र १९९ वटा घर पुनर्निर्माण गर्नैपर्ने, २१ वटा घरको माइनर रेट्रो फिटिङ, १९ वटा घरको मेजर रेट्रो फिटिङ गर्नुपर्ने औँल्याएको बताउनुभयो । डिडिए गर्ने व्रmममा रोसी गाउँपालिकाभित्रका १९१ घरपरिवारको आवश्यक कागजात नपुगेको, १०७ घरधुरीको पुनर्निर्माण आवश्यक नरहेको (पुननिर्माणका लागि छनोट नहुने) तथ्याङ्क आएको गाउँपालिकाका विपत् व्यवस्थापन शाखा प्रमुख सिर्जना श्रेष्ठले जानकारी दिनुभयो । यसै गरी नमोबुद्ध नगरपालिकामा डिडिएका लागि छनोट भएका ८२४ घरधुरीमध्ये हालसम्म ५२७ वटा घरको डिडिए गरिएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ४, ५, ६ र ७ नम्बरको २९७ घरधुरीको डिडिए गर्न बाँकी रहेको हो । 

डिडिएका लागि नगरपालिका र युएनडिपीका प्राविधिक खटिए पनि डिडिएका लागि खटिएका कर्मचारीको काम गर्ने समयसीमा सकिएका कारण चार वटा वडामा क्षति भएका घरको डिडिए हुन नसकेको नगरपालिकाका वातावरण शाखा प्रमुख सन्तोष काफ्लेले बताउनुभयो । उहाँले डिडिए सम्पन्न भएका घरमध्ये कति वटा घर पुनर्निर्माणका लागि योग्य भए भन्ने विषयको समेत तथ्याङ्क नआएको उहाँले जानकारी गराउनुभयो ।

पनौती नगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष अधिकारीले बाढीपहिरोले क्षति गरेका नगरभित्रका ६३५ घरको डिडिए गर्नका लागि आठ जना प्राविधिक खटाइएको बताउनुभयो । उहाँले सोमबारसम्म नगरपालिकाभित्रका ३३५ घरको डिडिए गर्ने काम सकिएको जनाउनुभयो । डिडिए गर्नुपर्ने घरको सङ्ख्या धेरै र दक्ष जनशक्ति कम तथा पोर्टलमा तथ्याङ्क प्रविष्टि गर्ने एक्सेस भएका प्राविधिक कम भएका कारण डिडिएमा ढिलाइ भएको हो । उहाँले यो साताभित्र डिडिए गर्ने काम सकिने बताउनुभयो । 

बेथानचोक गाउँपालिकाका इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले बाढीपहिरोबाट क्षति भएका २८५ घरको डिडिए गर्नुपर्ने बताउनुभयो । विविध कारणले गर्दा डिडिए गर्ने काममा ढिलाइ भएको बताउँदै हालसम्म वडा नम्बर १ मा दुई, वडा नम्बर २ मा १३ र वडा नम्बर ३ मा तीन वटा घरको मात्र डिडिए गर्ने काम सकिएको जानकारी दिनुभयो ।

राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव (प्राविधिक) इन्जिनियर अर्जुनकुमार बमले बाढीपहिरोबाट क्षति भएका निजी आवासको डिडिए गर्ने काम स्थानीय तहको भएको बताउँदै प्राधिकरणले उक्त कार्यका लागि आवश्यक पर्ने तालिम मात्रै प्रदान गर्ने बताउनुभयो । उहाँले कतिपय स्थानीय तहका प्राविधिकले नभ्याएको कारण देखाउँदै डिडिए गर्न ढिलाइ भएको जवाफ दिएका छन् । बाढीपहिरोका कारण जिल्लाको १३ वटै स्थानीय तहमा क्षति पुगेको थियो ।