केशब राज भट्ट
वाशुलिङ (बैतडी), साउन १५ गते । अविरल वर्षासँगै बैतडी जिल्लाका अधिकांश ग्रामीण सडकहरू हिलाम्मे बनेपछि यातायात र जनजीवन प्रभावित बनेको छ । सदरमुकामदेखि जिल्लाका विभिन्न गाउँ जाने कच्ची सडकहरूको अवस्था अत्यन्तै नाजुक बनेको छ ।
सडकहरू ठाउँ–ठाउँमा भत्किनुका साथै पानीले हिलो भरिएकाले यात्रुहरू गाडी धकेल्दै गन्तव्य पुग्न बाध्य छन् । कच्ची सडकमा यात्रा गर्दा यात्रुले गाडी धकेलेर गन्तव्यमा पुग्नुपर्ने अवस्था आएको सुर्नया–४ का वीरसिंह महराले बताउनुभयो । उहाँका अनुसार सडकमा खाल्डाखुल्डी र हिलोले गर्दा सवारी साधन सञ्चालनमा समेत कठिनाइ भएको छ । कतिपय स्थानमा सवारी चलाउन नसकिएर यात्रुहरू पैदलै यात्रा गर्न बाध्य छन् ।
‘‘पानी परेपछि न गाडी चल्छ, न मान्छे हिँड्न सकिन्छ,’’ भन्दै सुर्नया–४ की राजमति महराले एक दिन लाग्ने बाटोमा दिनभरिको कष्टकर यात्रा गर्नुपर्ने बताउनुभयो । हिलाम्मे सडकको जोखिमका बिच यात्रुहरू यात्रा गर्न बाध्य छन । ‘‘सडकहरुमा ठुला दुर्घटनासमेत भइसकेका छन्, भगवानको नाम लिँदै यात्रा गर्नुपरेको छ,’’ भन्दै सुर्नया–७ का गणेश कुँवरले सडकको अवस्था नाजुक रहेका बताउनुभयो ।
सडक अवस्था हेर्दा खेतमा रोपाइँ गर्न गएको जस्तो देखिने अवस्था छ । यात्राको आधा समय गाडी धकेल्दै बिताउने यात्रुको बाध्यता रहेको पुर्चाैडी नगरपालिका–६ की गोमति साउदले बताउनुभयो । उहाँले चालकभन्दा यात्रुहरूले नै गाडी धकेलिरहेको गुनासो गर्नुभयो । यही अवस्थाबारे पुर्चाैडी नगरपालिका वडा नम्बर ७ का सवारी चालक मनोरथ ऐरीले वर्षातका बेला हिलाम्मे सडकमा जोखिम मोल्दै सवारी चलाउनुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।
जिल्लाका सतबाँझ, श्रीभावर, पाटन, पञ्चेश्वर, बिसालपुर, सिल्लेगडा, रिम, खोचलेक, सित्तड, गोकुलेश्वर, डिलाशैनी, पाटन, सकार लगायत दर्जनौँ कच्ची ग्रामीण सडकमा जोखिम मोल्दै यात्रा गर्नुपरेको जिप चालक नरेन्द्र बिष्टले जानकारी दिनुभयो । एउटै स्थानीय तहको मुकाम पुग्न आधा दर्जन सडक बने पनि वर्षातमा सञ्चालन योग्य अवस्था नरहेको गुनासो छ । अधिकांश सडक मापदण्ड विपरीत निर्माण भएकाले हल्का वर्षा हुदा पनि सडक भत्किने समस्या देखिएको दोगडाकेदार ३ की मिना भट्टले जानकारी दिनुभयो ।
यातायात अवरुद्ध हुँदा किसानले उत्पादन गरेका फलफूल र तरकारी बजारसम्म पुर्याउन नसकेर बारीमै कुहिने अवस्था आएको भट्टले बताउनुभयो ।
यातायात कठिन हुँदा केही सवारी चालकले यात्रुहरूसँग मनपरी भाडा असुल्ने गरेको पञ्चेश्वर गाउँपालिकाका स्थानीय हरिश मंगोलाले गुनासो गर्नुभयो । ‘‘एक सयदेखि दुई हजारसम्मको भाडा तिर्नुपर्छ,” उहाँले भन्नुभयो ।