• १७ साउन २०८२, शनिबार

जलजलामा कोल्ड स्टोर तयार

blog

जलजलामा निर्माण भएको कोल्ड स्टोर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन १४ गते ।
म्याग्दी,पर्वत र बागलुङका किसानहरुलाई लक्षित गरी पर्वतको जलजला गाउँपालिका– ८ डमुवाखोलामा कोल्ड स्टोर निर्माण गरिएको छ । कोल्ड स्टोरमा आवश्यक उपकरणहरु जडान गरी सञ्चालनका लागि तयारी गरिएको छ । कोल्ड स्टोर निर्माण भएपछि किसानले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि सहज हुने भएको विश्वास गरिएको छ ।  

कोल्ड स्टोरको सम्पूर्ण काम सकिएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘४७ मेट्रिकटन क्षमताको चिस्यानगृहमा (कोल्ड स्टोर) कृषि उपज भण्डारणका लागि आवश्यक वातावरण अनुकूल हुने उपकरण जडान गर्ने काम सकिएको छ । जडान भएका उपकरणहरुको परीक्षण गरेर पालिकालाई हस्तान्तरण गर्न बाँकी छ । अबको एकमहिना भित्रमा कोल्डस्टोर सञ्चालनमा आउनेछ ।’’

कोल्ड स्टोरबाट जललजलाका साथै बेनी, बागलुङ र कुश्मा नगरपालिकाका कृषकहरुले लाभ लिने सकिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । कोल्ड स्टोर निर्माण भएपछि किसानहरुले उत्पादन गरेको सुन्तला, आलु लगायतका कृषि उपज भण्डारण गरी बेमौसममा निकालेर बिक्री गर्दा किसानलाई फाइदा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

जलजला गाउँपालिकाले सञ्चालन गरेको बिउ आलु प्रवर्धन कार्यक्रममार्फत उत्पादन भएको आलु हाल पोखराको चिस्यानगृहमा लगेर भण्डारण गरिँदै आएकोमा पालिका भित्र नै कोल्ड स्टोर बनेपछि सहज हुने पालिका अध्यक्ष आचार्यको भनाइ छ ।

गत वर्ष गाउँपालिकाले पाँच हजार बोरा बिउ आलु भण्डारणका लागि पोखराको कोल्ड स्टोरमा लगेर भण्डारण गरेको थियो ।  पालिकामै चिस्यानगृह (कोल्डस्टोर) बनेपछि गुणस्तरीय बिउ आलु भण्डारण गर्न सहज हुने पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

कोल्ड स्टोर बनाउन गत आर्थिक वर्षमा जलजला गाउँपालिकाले ९० लाख बजेट विनियोजन गरेको थियो भने गण्डकी प्रदेश सरकारले विशेष अनुदान शीर्षकमा ४० लाख रुपियाँ प्राप्त भएको गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । कोल्ड स्टोर निर्माणका लागि अघिल्लो आवमा गाउँपालिकाले साढे दुई रोपनी जग्गा खरिद गरेको थियो ।

कोल्ड स्टोर निर्माणका लागि एक करोड २७ लाख ६७ हजार चार सय ४० रूपियाँ लागत अनुमान गरिएको चिस्यानगृह निर्माणका लागि २०८१ मङ्सिर २६ गते गाउँपालिकाले मार्क कन्ट्रक्सन एण्ड सप्लायर्ससँग असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ९९ लाख ९६ हजार नौ सय १६ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता मितिभित्र योजना सम्पन्न भएको हो ।