• १५ साउन २०८२, बिहिबार

कोरला नाका खोल्न चिनियाँ पक्ष सकारात्मक

blog

तिब्बत सरकारको निमन्त्रणामा चीन पुग्नुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको महत्वपूर्ण भेटघाट ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), साउन १४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाकालाई व्यावसायिक रूपमा नियमित सञ्चालनका लागि गर्नुभएको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ । नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारले आयोजना गरेको कार्यक्रममा सहभागिका लागि एक साता लामो चीन भ्रमणको क्रममा रहेका मुख्यमन्त्री पाण्डेसँगको भेटमा चिनियाँ अधिकारी सकारात्मक देखिएका हुन् । मुस्ताङ र तिब्बतको सिमानामा रहेको कोरोला नाकामा देखिएका समस्या समाधान गर्दै व्यावसायिक रूपमा नाका सञ्चालनमा केन्द्रित भएर छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बताउनुभयो । 

मुख्यमन्त्री पाण्डेले भ्रमणका क्रममा तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ जुनझेङसँग भेटमा सकारात्मक कुरा अघि बढेको बताइएको छ । सोही क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको महत्वपूर्ण हिस्सा मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड सहज बनेको अवस्थामा दुई देशबिच व्यापार र पर्यटन प्रवर्धनमा सहकार्यको प्रस्तावसमेत चिनियाँ पक्षसँग राख्नुभएको बताइएको छ । उहाँका अनुसार मुख्यमन्त्री पाण्डेले कोरला नाकालाई व्यापारिकसँगै धार्मिक कोरिडोरका रूपमा समेत स्थापित गर्न सकिने बताउनुभएको थियो । हिन्दु, बौद्ध, जैनलगायत विभिन्न समुदायका धर्मावलम्बीहरूको अति पवित्र तीर्थस्थल कैलाश तथा मानसरोवरको दर्शनका लागि कोरला नाकाबाट निकै छोटो र सजिलै पुग्न सकिने बारेमा मुख्यमन्त्री पाण्डेले चिनियाँ पक्षलाई जानकारी गराउनुभयो । 

उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाबाट चीनको (नेचुङ–लिजी) खुलेसँगै नेपालबाट चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवरमा सडक सञ्जालबाट जान सबैभन्दा सजिलो र कम खर्चिलो हुने भएकाले सहज आवतजावतका लागिसमेत  सहकार्य गर्न सकिने उहाँले बताउनुभयो ।