हरिकृण्ण ऐडी
मुगु, साउन १४ गते । मुगाली काँचो स्याउ कर्णाली प्रदेशको राजधानी सुर्खेत, नेपालगञ्ज, दाङ लगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएको छ । जिल्लाका सम्बन्धित निकायहरुले कृषकका काँचो स्याउ सङ्कलन रोक लगाउनमा कुनै चासो नदेखाएको पाइएको हो ।
मुगुमा उत्पादन हुने मुगाली अर्गानिक स्याउ बारीमा राम्रोसँग नपाक्दै बजारमा देखापरे पनि जिल्लाको कृषि विकास कार्यालय र स्थानीय निकायले स्याउ सङ्कलनमा कडाइ नगरेको पाइएको हो ।
जिल्लाको काँचो स्याउ कर्णाली प्रदेशको राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आए पनि जिल्लाका सम्बन्धित निकायले स्याउ सङ्कलन रोकमा निर्णय नगरेको स्थानीय समाजसेवी विनोद कुमार मल्लले बताउनुभयो ।
यता कृषि विकास कार्यालय मुगुका सूचना अधिकारी अनुज कुमार मण्डलका अनुसार कृषकको आम्दानीका लागि काँचो स्याउ सङ्कलनमा रोक नलगाइएको हो ।
जिल्लाका किसानले स्याउ पाँच सय पाँच हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन गर्दै आएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ मुगुका कर्मचारी तेज बिक्रम मल्लका अनुसार काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्गानिक जिल्लाको पहिचान सङ्कटमा पर्ने भएकाले ढिलोमा भदौ पहिलो सातादेखि सङ्कलन गर्ने गरी तत्काल स्याउ सङ्कलनमा रोक तथा स्याउ ढुवानीको सिफारिस स्थानीय निकायले नदिनु भनि आफुले समन्वय गरिएको छ ।
जिल्लाको अर्गानिक स्याउको गुणस्तर कायम राख्न किसानलाई उचित मूल्य दिलाउन कृषि विकास कार्यालय मुगु, छायाँनाथ रारा नगरपालिकाको कृषि शाखा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ मुगुले एकरूपता भएर काम गर्न जिल्ला नागरिक समाजका अभियान्ता रुप बहादुर मल्लले सुझाव दिनुभयो ।
परिपक्व नहुँदै स्याउ बजारमा गएपछि मुगाली स्याउले उचित मूल्य नपाउने भएकाले राम्रोसँग स्याउले दिने प्रकार र आकारको ख्याल गरी उपयुक्त समयमै मात्र स्याउ खरिद गर्ने निर्णय जिल्लाका सम्बन्धित निकायले अहिलेसम्म एकरूपता भएर काम नगरेको देखिन्छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका–४, ५, ७, ८, ९ र १४ नम्बर वडासम्मका स्थानीय किसान स्याउ खेतीमा निर्भर रहेका छन् ।