• १२ साउन २०८२, सोमबार

‘उत्तरगण्डकी महामेला, दामोदर धर्मोत्सव’ हुने

blog

कालीगण्डकी अन्तगर्त लुम्बिनी र गण्डकी प्रदेशको सिमानामा रहेको उत्तरबाहिनी क्षेत्र ।

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), साउन १२ गते । कालीगण्डकीको महिमालाई विश्वभर प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्धन गर्ने योजनाका साथ ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२’ गरिने भएको छ । 

स्याङ्जाको गल्याङ नगरपालिका–१,  मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ को सङ्गमस्थल उत्तरवाहिनी क्षेत्र (कालीगण्डकी तट)मा महामेला गर्न लागिएको हो । 

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा हुने मेला आगामी असोज २१ देखि कार्तिक १९ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो । मेला एक महिनासम्म सञ्चालन हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “केही समय पहिले भारतमा सम्पन्न भएको कुम्भमेलाले भारतको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्‍याए जस्तै यो महामेलाले पनि नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने छ ।” धर्मोत्सवले स्थानीय कृषि उत्पादनको बजारीकणमा टेवा पुर्‍याउने, घरेलु तथा साना उद्योगहरूको पनि बजारीकणमा सहयोगी हुने उहाँको भनाइ छ । 

महामेलामा नेपाल तथा भारतका गुरुहरूको सहभागिता रहने तथा नेपालसँगै भारतीय भक्तजनलाईसमेत भित्र्याउने गरी तयारी थालिएको  प्रतिष्ठानका अध्यक्ष चैतन्यले बताउनु भयो । महामेलामा सहभागी हुने भक्तजनहरूलाई देवघाट, रुरुक्षेत्र, सेतीवेणी शीला, मुक्तिनाथ लगायतका तीर्थस्थल दर्शनको व्यवस्था मिलाइएको उहाँको भनाइ छ । 

महामेला अवधिभर तुलसीदल, गाईको दूध र गण्डकीजलद्वारा सवालाख शालग्राम भगवानको अभिषेक पूजन, जलयातायात एवं स्टीमरद्वारा गण्डकी भ्रमण, दामोदर कथा, दीपदान तथा श्रृङ्गारिक गङ्गा आरती, विश्वविख्यात संत एवं गुरुहरूद्वारा प्रवचन, उत्तरवाहिनी महास्नान, उत्तरवाहिनी पूजन, लगायतका गतिविधि गरिने आयोजकले जानकारी दिएको छ । 

यस्तै राष्ट्रिय लोकभजन प्रतियोगिता, राष्ट्रिय वतृत्वकला प्रतियोगिता, धार्मिक तथा सांस्कृतिक हाजिरीजवाफ, निबन्ध लेखन, कविता र टिकटक प्रतियोगिता सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ । 

गण्डकी क्षेत्रको प्रस्तावित गुरुयोजना अनुसार एक हजार व्यक्तिलाई आवास सुविधा हुने गरी धर्मशाला निर्माण गर्ने, घाट व्यवस्थापन गर्ने, एक हजार क्षमताको सभाहल निर्माण, पाठशाला, यज्ञशाला, गौशाला निर्माण गर्ने योजना रहेको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानकाका संरक्षक शङ्करप्रसाद पाण्डेले बताउनुभयो । महामेलाले यसका लागि सहयोग पुर्‍याउने उहाँको भनाइ छ । 

कालीगण्डकीको उत्तरवाहिनी क्षेत्रलाई सबैभन्दा पवित्र क्षेत्र मानिन्छ । यसैबिच महामेलाको तयारीका लागि लुम्बिनी प्रदेशको रूपन्देहीमा भेला तथा छलफल सम्पन्न गरिएको छ ।