काठमाडौँ, साउन १२ गते । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएका छन् । अर्थमन्त्रालयका अनुसार एमसिसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले निरन्तरता पाएका हुन् ।
“नेपाल सरकार र उक्त निकायबिच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो”, अर्थमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सो सम्बन्धमा यही साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएको छ ।” रासस