बाँके समाचारदाता
बाँके, साउन १२ गते । विसं १९४७ मा वीर अस्पतालसँगै स्थापना भएको नेपालगन्जको भेरी अस्पताल सोमबार स्थापना भएको १३५ वर्ष पुग्दै छ । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले आमजनताको अस्पतालप्रति बढ्दै गएको विश्वासलाई निरन्तरता दिन अस्पताल विकास समिति र प्रशासन लागिपरेको बताउनुभयो ।
अध्यक्ष शाहले भन्नुभयो, “अस्पतालमा दैनिक आउने बिरामीको सेवा सुविधासँगै बिरामीको उपचारका लागि अन्यत्र जान नपर्ने गरी सेवा विस्तारको पहल भइरहेको छ ।” भेरी अस्पतालमा कोभिड–१९ पछि बिरामीको चाप अत्यधिक बढ्न थालेको हो । यहाँ आउने बिरामीको सङ्ख्या दिनप्रतिदन बढ्दो क्रममा रहेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख छ हजार ६९० जना बिरामीले बहिरङ्ग उपचार सेवा प्राप्त गरेका छन् ।
आव २०८०/८१ मा एक लाख ६२ हजार ७९८ जनाले बहिरङ्ग उपचार सेवा प्राप्त गरेकोमा गत वर्ष सेवाग्राहीको सङ्ख्या अधिक भएको हो । अस्पतालमा बहिरङ्ग सेवाका लागि आउने बिरामीले चिकित्सकको परीक्षणपछि अस्पतालबाट विभिन्न सेवा लिने गरेका छन् । अस्पतालको प्रारम्भिक तथ्याङ्क अनुसार भेरी अस्पतालमा मेडिसिन, सर्जरी, प्रसूति, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक, न्युरोलगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । विभिन्न जटिल खालका शल्यक्रियासमेत यहाँ हुँदै आएको छ ।
यस अस्पतालमा लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तर प्रदेशबाट समेत बिरामी सेवा लिन आउने गरेका छन् । अस्पताल विकास समितिका अध्यक्ष शाहले भेरीमा बढ्दो बिरामीको चापलाई हेरेर थप भौतिक पूर्वाधारसहित जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । सात शøयाबाट सुरु भएको यो अस्पताललाई पाँच सय शøयाको बनाउने योजनासहित कामलाई अघि बढाइएको अस्पतालले दाबी गरेको छ ।