• १२ साउन २०८२, सोमबार

बाढीका कारण दुईवटा राजमार्गमा यातायात अवरुद्ध

blog

बाढीका कारण सडक अवरुद्ध हुँदा मेची राजमार्गको हेवा खोला खण्डमा रोकिएका गाडी । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 
फिदिम, साउन १२ गते ।
आइतबार अपराह्नदेखि निरन्तर भएको वर्षासँगै हेंवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर सडकखण्ड अवरुद्ध भएको छ ।

हेंवा खोलामा आएको बाढीले त्यहाँ निर्मित डाइभर्सनमा क्षति पुर्‍याउँदा यातायात र ढुवानी प्रभावित भएको हो ।

यस्तै, तमोर करिडोरको पाँचथर र धनकुटाको सिमनामा रहेको नावा खोलामा आएको बाढीका कारण यो राजमार्ग भएर हिँड्ने सवारी र ढुवानीका साधन आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रपुख (डिएसपी)कौशलकुमार बुडाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार मध्यरातदेखि दुवै सडक अवरुद्ध भएका हुन् । मेची राजमार्गको हेवा खोला पुल २०८० असार २ गते बाढीले बगाएको थियो । त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गते बग्यो भने तेस्रो पटक निर्माणाधिन मोडुलर ब्रिज गत जेठ ३१ गते भाचिएपछि यो खोला डाइभर्सनका भरमा छ । उता नावा खोलामा पुल बनेको छैन । पाँचथरसहित पहाडी जिल्लामा आइतबार अपराह्नदेखि निरन्त पानी परिरहेको छ ।