धनगढी समाचारदाता
धनगढी, साउन १२ गते । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी धनगढीमा कायम गर्ने चर्चा चलेपछि कैलालीको गोदावरी नगरपालिकावासी सशङ्कित भएका छन् ।
प्रदेश सरकारले आफैँले दुई तिहाइ बहुमतले टुङ्गो लगाएको ठाउँबाट राजधानी सार्ने चेस्टा भइरहेको भन्दै उनीहरू सशङ्कित भएका हुन् । राजधानी सार्ने कुरा बाहिरिएपछि उनीहरूले सङ्घर्षको तयारी गर्न थालेका छन् ।
तत्कालीन प्रदेश सभाले २०७५ असोज १२ गते दुई तिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा प्रदेशको स्थायी राजधानी तोकेको थियो तर सदनको बहुमतले तय गरेको राजधानी कार्यान्वयन हुन सकेको छैन । राजधानी निर्माणका लागि प्रदेश सरकारले वनक्षेत्रको जग्गाको भोगाधिकार प्राप्त गर्न नसकेपछि त्यसको विकल्पका कुरा बाहिर आइरहेका छन् ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गोदावरीमा राजधानी कार्यान्वयन नभए त्यसमा धेरै अलमल गर्न नहुने धारणा सार्वजनिक रूपमा राख्दै आउनुभएको छ । केही महिनाअगाडि भारत भ्रमणबाट फर्केपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले राजधानीको विषयले प्रदेश सभामा प्रवेश पाउनुपर्ने कुरा राख्नुभएको थियो ।
राजधानी सार्ने हल्ला चलेपछि गोदावरी नगरपालिकाका सामाजिक अगुवाहरूले आइतबार छलफल गरेर राजनीतिक दलका नेतालाई साथमा लिएर राजधानी जोगाउन सङ्घर्ष गर्ने निष्कर्षमा पुगेका छन् । सामाजिक अगुवा राजेन्द्र खड्काले सरकारले गोदावरीमाथि अन्याय गरे जस्तोसुकै सङ्घर्ष गर्ने चेतावनी दिनुभयो । उहाँले सबै राजनीतिक दललाई साथमा लिएर सङ्घर्षमा उत्रिने उल्लेख गर्नुभयो ।
प्रदेश राजधानी तोकिएकै ठाउँमा हुनुपर्ने युवा नेता शङ्कर खड्काको भनाइ छ । उहाँले राजधानी विकासको केन्द्र, भविष्यको बाटो र गोदावरीको पहिचान रहेकाले यसका लागि सबैले बोल्न जरुरी रहेको औँल्याउनुभयो । प्रदेश सभाबाट दुई तिहाइ बहुमतले तय गरिएको राजधानी अन्यत्र सार्न प्रदेश सभाबाटै दुई तिहाइ बहुमतको निर्णय आवश्यक हुन्छ ।