अमृतप्रसाद पौडेल
म्याग्दी, साउन १२ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ३ मा डाँडागाउँको बोक्रे खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना मार्फत दुई सय २५ घर स्कुल र स्वास्थ्य चौकी गरी दुई सय ३० धारा निर्माण गरिएको छ ।
मालिका गाउँपालिका ३ को पात्ले, लुक्सिपार, किटानी, डाँडागाउँ, औल, सेलिङ र सराक्दी क्षेत्रमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/०८२ मा आयोजना निर्माण सम्पन्न भएर आइतबार मालिका गाउँपालिका अध्यक्ष गर्बुजाले खानेपानी आयोजनाको औपचारीक उद्घाटन गर्नुभएको नेपाल स्वास्थ्यका लागि पानी(नेवा)का सुरेन्द्र चन्दले जानकारी दिनुभयो । खानेपानी धारा निर्माण सम्पन्न भए पछि धारामा पानी नियमित हुन थालेपछि उद्घाटन गरीएको चन्दको भनाइ छ ।
कुल एक करोड चार लाख ६९ हजार पाँच सय ५१ को लागतमा निर्माण भएको उक्त खानेपानी आयोजनामा नेपाल स्वास्थ्यका लागि पानी(नेवा)को ५० लाख ६० हजार आठ सय ३१, मालिका गाउँपालिकाको २४ लाख ८५ हजार पाँच सय ९६ र स्थानीय उपभोक्ताले २९ लाख १३ हजार एक सय २४ बराबरको जनश्रम गरेका थिए ।
दुई सय २५ घरधुरी रहेको उक्त क्षेत्रमा कुल एक हजार दुई सय ३४ जनसख्या रहेकोमा दुई सय ८६ जना विद्यार्थी रहेका छन् । एउटा सामुदायिक स्वास्थ्य इकाई र तीन वटा विद्यालय रहेको छ । तीन वटा विद्यालयमा चार वटा र स्वास्थ्य इकाएमा एउटा गरी पाँच वटा धारा तथा दुई सय २५ घरमा एकएक धारा गरी कुल दुई सय ३० धारा निर्माण गरी पानी धारामा आउन थालेको गाउँपालिका अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो ।
तीन वटा मुहानबाट पानी सकल गरेर २१ हजार चार सय ६८ मिटर पाइप मार्फत गाउँमा पानी वितरण गरीएको खानेपानी आयोजनाका अध्यक्ष हिराबहादुर पुनको भनाई छ । बिहानै उठेर घण्टौं हिडेर पानी लिन जान पर्ने स्थानीय जनताको बाध्यता खानेपानी आयोजनाले अन्त्य गरेको उहाँले सुनाउनुभयो ।