• १२ साउन २०८२, सोमबार

गुरुङ चलचित्रको चल्तीका गीत

blog

सन्तोष सुवेदी

कास्की, साउन १२ गते । पर्यटनसँगै चलचित्रको राजधानी मानिने पोखरामा गुरुङ चलचित्रको इतिहास छ । गुरुङ चलचित्रको क्षेत्र फराकिलो मात्र नभएर गुणस्तरीयसमेत बनेको छ । झन्डै २७ वर्षको अवधिमा गुरुङ चलचित्रले उल्लेख्य प्रगति पनि गरेको छ । 

हालसम्म दुई सयभन्दा बढी गुरुङ चलचित्र निर्माण भएका छन् भने केही निर्माणाधीन छन् । सानो बजेटमा निर्माण हुने गुरुङ सिनेमाका गीतसङ्गीत पनि निकै चर्चित हुने गर्छ । औपचारिक कार्यक्रममा अहिले गुरुङ चलचित्रका गीतले स्थान जमाएको छ । स्कुललगायत सांस्कृतिक कार्यक्रममा गुरुङ चलचित्रका गीत बढी गुन्जिने गरेका छन् । ‘प्ह्रेँस्यो’ नामक फिल्मको ‘प्रेतना रोधिनी’ अत्यधिक रुचाइएको गीत हो । यो गीतलाई युट्युबमा २६ लाखभन्दा बढी पटक हेरिएको छ । गीतमा धनबहादुर गुरुङको सङ्गीत छ । पछिल्लो समय ‘मौरीमो’  फिल्मको ‘ए ङोल्स्यो’ हिट गीतको सूचीमा रहेको गुरुङ चलचित्र एसोसिएसनका संस्थापक अध्यक्ष माओत्से गुरुङ बताउनुहुन्छ । 

गुरुङ चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका छन् । यसमा पुरस्कार पाउने पहिलो फिल्म ‘कृपा’ हो । ‘युम्पो देउराली’ र ‘कर्म क्याँ’ पनि पुरस्कार पाएका चलचित्र हुन् ।  पछिल्लो समय साङ्गीतिक चलचित्रले व्यापारमा निकै सघाएको जिफानका पूर्वअध्यक्ष भोजबहादुर गुरुङ बताउनुहुन्छ । उहाँले गीतको चर्चासँगै चलचित्र हेर्न जाने दर्शक बढेको विश्लेषण गर्नुभयो । उहाँका अनुसार ‘ङोल्स्यो राम्हानी’, ‘ङल ङोल्स्यो शिरमैहानी’, ‘छ्याबहानी ङोल्स्योने’, ‘देउरालिरा प्रेनो’ र ‘चौछ्याबै ढाका क्रोमु कुवा’ का गुरुङ फिल्ममा समावेश गीत चल्तीका छन् । 

अहिले पोखरामा गुरुङ चलचित्र निर्माण गर्ने एक दर्जन कम्पनी र डेढ सयको हाराहारीमा कलाकार र प्राविधिकको जमात तयार भइसकेको छ । गुरुङ चलचित्र बनाएरै बाँच्ने कलाकार, निर्देशक, प्राविधिक थुप्रै छन् । स्टुडियोले पनि राम्रै काम पाएका छन् । यसरी हेर्दा अहिले गुरुङ चलचित्र उद्योगकै रूपमा लम्किएको छ । चलचित्र निर्माणको क्रम बढ्न थालेसँगै व्यावसायिक रूप लिएको छ । गुरुङ चलचित्रले गुरुङ कलाकार मात्र नभएर गैरगुरुङलाई पनि रोजगारी दिएको छ । गायिका रजनी राई र तारा श्रीस गुरुङ चलचित्र गायिकाको अग्रपङ्क्तिमा पर्नुहुन्छ ।