टोपलाल अर्याल
रेसुङ्गा साउन ११ गते । ‘माया हो पात बजाउँदै झरे है ओराली मै बस्छु छल्दी फाँटैमा’ यो गीत वरिष्ठ लोक गायक बमबहादुर कार्कीले गायका हुन् । जिल्लाका खेतीयोग्य जमिनमध्ये गनिने इस्मा गाउँपालिका–२ को छल्दीफाँट हो । यो फाँटमा साउन पहिलो हप्तासम्म सबैले किसानले रोपाइँ सक्थे । तर अहिले कुनाकाप्छाका छिप्यानमा बाहेक कसैले रोप्न सक्ने अवस्था छैन ।
इस्मा गाउँपालिका–२ छल्दीटनरीका कृष्ण श्रेष्ठको करिव १२ रोपनी खेत छ । केही नभएपनि मङ्सिरमा ५० मुरी धान फल्छ । तर अहिले बर्सात नहुँदा व्याडको बिउ बुढो हुँदै गयो । उहाँले भन्नुभयो, “पानीनै नपरेर असार २/३ गते राखेको बिउ बुढो भयो, २२ देखि २५ दिनभित्र रोप्नुपथ्र्याे । गिट्टीबालुवा दोहनले कुलो सुक्यो, बोरिङ्ग चलाउन सकिएन ।” उर्वर ठुलो फाँटमा करिव ७० घरपरिवारको खेत भए पनि कसैले रोपाइँ गर्न नपाएकाले निराश भएको श्रेष्ठले बताउनुभयो ।
यसैगरी, इस्मा गाउँपालिका–२ छल्दीकै जंगबहादुर खत्रीको पनि छल्दीटारीमा सात/आठ रोपनी खेत छ । बल्ल–तल्ल ढावतिरको रोपाइँ गरेपनि माझ खेत रोप्न नपाएको खत्रीले गुनासो गर्नुभयो । बालुवा निकाल्दै गएपछि छल्दीखोला गहिरियो जसले कुलो सुक्न थालेका बर्सौ भए । नेताहरुले कुलोको विकल्पमा बोरिङ्ग सञ्चालन गरेपनि धेरै खर्चिलो र बिग्रिरहने भएकाले आफुहरुले प्रयोग नगरेको खत्रीले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका अनुसार गुल्मीमा आजसम्म ८३.७ प्रतिशत धान रोपाइँ भएको छ । मकै र जर्डन धान भएका केही ठुला फाँटहरुमा अझै रोपाइँ भएको छैन । जिल्लाका १२ वटै स्थानीय तहका विभिन्न फाँटहरुमा धान रोप्ने गरिएको छ । कृषिज्ञान केन्द्रका सूचना अधिकारी शिवप्रसाद बन्जाडेका अनुसार गुल्मी जिल्लामा चैते धान ३१९ हेक्टर र वर्षे धान सात हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गुल्मीमा चैतेधान प्रति हेक्टर ४.०३ र बर्सेमा ३.२५ मेट्रिकटन धान उत्पादन हुने बन्जाडेले बताउनुभयो । उहाँले जिल्लामा चैते धान एक हजार २८६ र बर्से २३ हजार १४० मेट्रिकटन उत्पादन हुने बताउनुभयो ।
जिल्लामा हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरे बडियारे, थापचिनी, गुडुरो, ढल्लेलोई, पाखे धान, रातो मार्सी धान, मार्सी जातका धानहरु छन । कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन् । उन्नत जातहरुमा युएस ३१२, साँवा मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली हाईब्रिड धान शंकर, उपज, च्याम्पियन छन् ।