• १४ जेठ २०८१, सोमबार

कमजोर बन्दै नेपाली मुद्रा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ७ गते । नेपाली रुपियाँको अवमूल्यन हुने क्रम रोकिएको छैन । पछिल्लो समय निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य सोमबार १२५.२२ रुपियाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । यसले गर्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ ।

सोमबारका लागि नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको विनिमय दर १२५.२२ रुपियाँ (बिक्री दर) तोकेको थियो ।यसअघि बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५.२१ रुपियाँ (बिक्री दर) तोकिएको थियो ।

पछिल्ला केही महिनायता डलरको मूल्य उकालो लाग्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।

डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्ने, विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सको आकार बढ्ने गर्छ तर पर्यटक आउने र निर्यात बढ्ने सम्भावना नभएको तथा आयात उच्च रहेको अवस्थामा डलरको मूल्य बढ्दा नोक्सानी बढी हुने देखिन्छ ।