अजय शाह
गौशाला (महोत्तरी), साउन ८ गते । गौशाला नगरपालिकामा वर्षौदेखि लाग्दै आएको स्थानीय साप्ताहिक हटिया बजारको स्थान सारिएको छ ।
गौशाला नगरपालिका– ५ मा लाग्दै आएको गोरु, खसी तथा माछा बजारको नामले चिनिने स्थानीय साप्ताहिक हाट बजार नगरपालिको साउन ७ गते निर्णयको निर्णय अनुसार साबिकमा लाग्दै आएको स्थानमा बजार लाग्न निषेध गरिएको छ ।
अब गौशाला बजार मराहापुलको दक्षिण पूर्व पट्टि रहेको रहेको नगरपालिकाको कृषि उपज केन्द्र मा लागू हुने गरी सारिएको निमित प्रमुख प्रशासकीय अधिकृत मनोज महराले एक सूचना प्रकाशित गरी जानकारी गराउनुभएको छ ।
गौशाला नगरपालिका र निगौल गाई गौशालाको जग्गामा लाग्दै आएको बजार ठेक्काको राजस्व सङ्कलन विवाद भएपछि नगरपालिकाले गोरु, खसी र माछा बजार अन्यत्र सारेको नगरप्रमुख डा दिपेन्द्र महतो बताउनुभयो ।
गौशाला नगरपालिका र निगौल गाई गौशाला बीच बजार ठेक्कासम्बन्धी विवादको भएर दुई पटक झडप नै भएपछि बजार अन्यत्र सार्नु परेको नगरप्रमुख डा. दिपेन्द्र महतो बताउनुभयो ।
तत्कालीन अवस्थामा (२०७० सालमा)गौशाला गाविस र निगौल गाई गौशालाबिचको सम्झौता अनुसार बजार ठेक्काबाट उठेको रकमबाट २५ प्रतिशत रकम गाई गौशालालाई दिने शर्तमा बजार ठेक्का लाग्दै आएको थियो । तर गाई गौशालालाई दिनुपर्ने रकम भुक्तानी नगरेको विषयलाई लिएर गौशाला नगरपालिका पक्षधर र गाई गौशाला पक्षधर दुई पटक झडप भएको थियो ।
यस विषयलाई लिएर उच्च अदालत जनकपुरले साउन ७ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै गौशाला नगरपालिकाबाट बजार ठेक्का प्राप्त गरेका श्रवणकुमार महतोलाई नगरपालिका को च.न. १०३ मिति २०८२ असार ३२ गते चलन पुर्जि बमोजिम कार्य गर्न बाधा अवरोध नगर्नु भनि न्यायधीश महेन्द्रनाथ उपाध्यायको इजलासले आदेश जारी समेत गरेको छ ।
विगतका दिनमा भएको विवाद र झडपलाई मध्यनजर गरि साविकमा बजार लाग्ने स्थानमा सुरक्षाकर्मीहरुलाई खटाइएको छ भने बजार सारिएको स्थानमा नगर प्रहरी खटिएका छन् ।
सोमबार बिहान ठेक्का रकम सङ्कलनको प्रयासका क्रममा नगरपालिका पक्ष र गाई गौशाला पक्षधरबिच विवाद उत्पन्न भई हात हालाहाल भएको थियो ।
विवादले झडपको रुपलिँदा चार जना घाइते भएका छन् । झडपमा परेर वडा नं. २ का वडा अध्यक्ष श्याम कुमार मण्डल, स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी बल परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
नगर प्रमुख महतोले स्थानीय बजारहरु स्थानीय सरकारको मातहतमा हुनु पर्ने कानुन रहेको हुँदा सोहि अनुसार गरिएको र बाँकी विषयमा सर्व पक्षिय बैठक गरेर समस्याको समाधान गर्ने बताउनुभयो ।
यता उच्च अदालतको आदेशानुसार साउन ९ गतेको तारिख तोकी दुबै पक्षलाई रोहवरमा राखि छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ ।