अर्जुन कार्की
काठेखोला (बागलुङ), साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा बागलुङका वृत्तचित्र प्रदर्शन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङले श्रेष्ठको स्मृति दिवसमा बुधबार जीवनी र कम्युनिष्ट पार्टीको स्थापनासम्बन्धी नेकपा एमालेले १० औं महाधिवेशनमा र विभिन्न सञ्चार माध्यमले निर्माण गरेका वृत्तचित्र प्रदर्शनी गरेको हो ।
वृत्तचित्रमा पुष्पलालको राजनीतिक जीवन, विचार, योगदान तथा नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँको ऐतिहासिक भूमिका उजागर गरिएको थियो । जसले सहभागीलाई उहाँको दर्शन र सङ्घर्ष सम्झाउने काम गरेको छ ।
नेकपा (एमाले) बागलुङका सचिव गणेश थापाले नेपाली कम्युनिष्टहरूले पुष्पलालले देखाएको मार्ग अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘पुष्पलालले जनताको जीवन परिवर्तन हुनुपर्छ भनेर सुरू गर्नुभएको आन्दोलन आजको सन्दर्भमा अझ सान्दर्भिक छ’ उहाँले भन्नुभयो, ‘अब मूल्याङ्कन गरिनुपर्छ, आम नागरिकको जीवन साँच्चै परिवर्तन भयो कि भएन ?’
सचिव थापाले वर्तमानमा बिभाजित कम्युनिष्ट शक्तिहरूबिच एकता आवश्यक रहेको धारणा पनि राख्नुभयो । थापाले कम्युनिष्ट आन्दोलनको उद्देश्य र वर्तमान चुनौतीका बिच पार्टीहरूबिच एकता अपरिहार्य रहेको धारणा पनि राख्नुभयो ।
वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा जन्मिनुभएका पुष्पलालको नेतृत्वमा नेपालमा वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । पुष्पलालले श्रमिक वर्गको हित सुनिश्चित गर्नु र सामाजिक न्यायसहितको समावेशी समाज निर्माण गर्ने उद्देश्यले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
राजनीतिक जीवनभर जनताको पक्षमा क्रान्तिकारी विचार बोकेर अगाडि बढ्नुभएका पुष्पलालको निधन वि.सं. २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा भएको थियो । पुष्पलालले नै कार्लमार्क्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो ।