काठमाडौँ, साउन ६ गते । बङ्गलादेशमा सोमबार सम्पन्न यु–२० महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली मङ्गलबार स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरे । फाइनलसरह मानिएको लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलको हार खेपेपछि नेपाल उपविजेतामा सीमित बनेको थियो ।
बङ्गलादेश अपराजित रहँदै च्याम्पियन बन्यो । नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।
डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा यसअघि नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो ।
यस्तै भुटानलाई ६–१ र ८–० गोलले हराएको थियो । चार टोली सम्मिलित च्याम्पियनसिपमा भुटान तेस्रो र श्रीलङ्का चौथो स्थानमा रह्यो ।