गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ६ गते । ‘विद्यार्थीलाई सशक्तीकरण गर्दै, संस्कृतिलाई जोड्दै’ नाराका साथ अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी विश्वका अन्य विद्यार्थीको शैक्षिक आवश्यकता पूरा गर्न अग्रसर भएका छन् ।
अमेरिकामा स्थापना भएको ‘टिउटरिङ टु इन्सपायर’ नामको गैरसरकारी संस्थामार्फत शैक्षिक तथा सांस्कृतिक आदानप्रदानको अनुसरण गर्दै नेपालको विद्यालय शिक्षामा सघाउन थालेका हुन् ।
अभियानबारे सोमबार गोरखापत्र संस्थानमा आएर अवगत गराउँदै संस्थाका कार्यकारी प्रमुख १९ वर्षीय जय पन्तले शिक्षामा कम पहुँच पाएका विद्यार्थीलाई लक्षित गरेर निःशुल्क विद्यालयस्तरीय विषयगत कक्षाहरू दिन थालिएको जानकारी दिनुभयो । तथापि आवश्यकता अनुसार सुदृढ अन्य विद्यालयमा पनि सेवा दिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार विद्यालय शिक्षासँगै आपसी सांस्कृतिक आदानप्रदानका कार्यक्रममार्फत प्रभावकारी र दिगो शिक्षाको विश्वव्यापी सम्बन्धलाई बढावा दिन प्रयास गरिएको छ । नेपालमा झापास्थित जुनकिरी सामुदायिक आधारभूत विद्यालयमा कम्प्युटर शिक्षामार्फत सघाउन सुरु गरिएको संस्थाका कार्यकारी निर्देशक १९ वर्षीय साम कियोनले जानकारी दिनुभयो । अमेरिकाको डालासमा पनि आफूहरूले आवश्यकता अनुसार विभिन्न विषयका कक्षामा सघाउने गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थामा आबद्ध विशेषज्ञ एवं स्वयंसेवी शिक्षकहरूले विभिन्न विषयमा प्रत्यक्ष तथा भर्चुअल रूपमा कक्षा लिने गरेका छन् । गैरनाफामुखी रूपमा सञ्चालन गरिएको शैक्षिक आदानप्रदानले आपसी ज्ञानसँगै आपसी मित्रता कायम गर्ने उहाँको विश्लेषण छ । आपसी सद्भाव र सांस्कृतिक आदानप्रदानले भौगोलिक रूपमा टाढा भए पनि भविष्यको शैक्षिक यात्रालाई सुन्दर बनाउन सघाउने विश्वास आफूहरूले राखेको उहाँहरूको धारणा छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले किशोरवयमा नै यसरी सेवाको भावनाले अगाडि बढ्नु सबैका लागि प्रेरणाको कुरा भएको भन्दै हौसला प्रदान गर्नुभयो । उहाँले नेपालमा उहाँहरूको यात्रामा संस्थाले सघाउने प्रतिबद्धता जनाउनुभयो ।
उक्त अवसरमा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्र डिजिटलका निमित्त प्रधान सम्पादक नारद गौतमलगायतले उहाँहरूको अभियानबारे जानकारी लिँदै उद्देश्य पूरा गर्न शुभकामना दिनुभएको थियो ।