जनकपुरधाम समाचारदाता
जनकपुरधाम, साउन ५ गते । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महìव बोकेको ‘सीता पुष्पवाटिका मणिमण्डप’ निर्माण अन्तिम चरणमा पुगेको छ । तीन वर्षमा सम्पन्न हुने भनिएको योजना सम्झौता मितिभन्दा दोब्बर समय लिएर सात वर्षपछि बल्ल अन्तिम चरणमा पुगेको हो । ढिलै भए पनि पुष्पवाटिका बन्ने भएपछि स्थानीयवासी भने हर्षित भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१३, रानीबजारस्थित ऐतिहासिक राम–सीता विवाहस्थल (बेदी) नजिकै निर्माण भइरहेको ‘सीता पुष्पवाटिका मणिमण्डप’ धार्मिक पर्यटक आकर्षणको नयाँ केन्द्र बन्ने अपेक्षा गरिएको छ । जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको ओझेलमा परेको यो ऐतिहासिक स्थलको पुनरुत्थानसँगै धार्मिक पर्यटनमा नयाँ सम्भावना देखिएको छ ।
मणिमण्डपका पुजारी नवल दास भन्नुहुन्छ, “धेरै ढिलो भयो, तर अहिले काम अन्तिम चरणमा पुगेको देख्दा हामी अत्यन्तै खुसी छौँ । यो स्थानको धार्मिक महìव हेर्दा धेरै पहिले नै निर्माण सम्पन्न हुनु पथ्र्यो । अब विवाहमण्डपको विकासले सीता–रामको ऐतिहासिक विवाहस्थललाई अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा चिनाउने छ ।”
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय, धनुषाका प्रमुख इन्जिनियर विनोदकुमार यादवका अनुसार विवाह पञ्चमीको अवसरमा सामूहिक विवाह कार्यव्रmम यही मणिमण्डपपरिसरमा आयोजना गरिने छ । प्रमुख यादवले वैवाहिक गतिविधिलाई ध्यानमा राखेर नै भौतिक संरचना निर्माण गरिएको बताउँदै वाटिकाको छिटै उद्घाटन गरेर स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
साथै सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख यादवले भन्नुभयो “वाटिका परिसरमा निर्माण भएका घर हटाउन स्थानीय तहले पहल गरिदिए वाटिकाको सौन्दर्य अझै बढ्ने थियो । घर भएका कारण बाँकी काममा ढिलाइ भइरहेको छ ।”
२०७५ सालमा सङ्घीय सरकारको सघन सहरी कार्यक्रम अन्तर्गत जनकपुरधामको ऐतिहासिक महìवलाई उजागर गर्न १८ करोड १५ लाख २२ हजार ७९३ रुपियाँको लागतमा रविना कन्स्ट्रक्सन प्रालिसँग निर्माण सम्झौता भए पनि सो रकम संशोधन भएर १८ करोड ९१ लाख ५१ हजार ४६० रुपियाँ पुगेको छ । २०७८ मङ्सिर २४ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि विभिन्न कारणवश सात वर्षमा अन्तिम चरणमा पुगेको हो । निर्माण कम्पनीले सात वर्षमा पटक पटक गरी पाँच पटकसम्म सम्झौताको म्याद थप गरेको थियो ।
वाटिकाको यो पहिलो चरणको कार्य अन्तिम चरणमा पुगेको हो र दोस्रो चरणमा परिसर सुधार तथा सौन्दर्यीकरणको कार्य गरिने सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ ।
दुई बिघा क्षेत्रफलमा फैलिएको मणिमण्डप योजना अन्तर्गत परिसरभित्र दुईतले जनक दरबार भवन, धर्मशाला, स्वयंवर मण्डप, दुई वटा प्याभिलियन, आठ सटरसहितको पसल रहेका छन् भने परिसर बाहिर पगलाबाबा धर्मशाला, अग्निकुण्डनजिक क्षेत्रीय समाज धर्मशाला, हनुमान मन्दिर, देवी चौकस्थित चित्रगुप्त सेवा समितिको भवन, सरस्वती माविको पूर्वपट्टि रहेको रामजानकी मन्दिरलगायतका संरचनासमेत निर्माण भएका छन् ।
रामायणकालीन मिथिला सभ्यता र प्रकृतिको सौन्दर्यलाई झल्काउने उद्देश्यले डिजाइन गरिएको यो वाटिकालाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । निर्माणमा भएको ढिलाइका कारण यस क्षेत्रका व्यवसायहरू फस्टाउन नसकेको गुनासो गर्दै आएका छन् ।