• १२ साउन २०८२, सोमबार

मुकुम्लुङ क्षेत्रको संरक्षणमा साझा प्रयास जरुरी

blog

मुकुम्लुङ क्षेत्रको संरक्षणबारेमा अभियन्ताहरुसँगको छलफल । तस्बिरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ११ गते । ताप्लेजुङको ऐतिहासिक आदिवासी थातथलो मुकुम्लुङ संरक्षणबारेमा पहिचानवादी अभियन्ताविच छलफल भएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको कार्यालयमा आज भएको छलफलमा आदिवासीको पहिचानसँग जोडिएको सो क्षेत्रको संरक्षणमा राज्य चिन्तित हुनुपर्ने अभियन्ताहरुको सुझाव छ ।

४२ प्रतिशत लिम्बू समुदायको बसोबास रहेको ताप्लेजुङको आदिवासीको मूख्य धरोहरको रुपमा रहेको सो क्षेत्रमा केवलकार निर्माणले आदिबासीको पहिचान छिन्नभिन्न हुने बुझाइ अभियन्ताहरुको छ । सो क्षेत्रको संरक्षणमा साझा प्रयासको खाँचो रहेको उहाँहरुको सुझाव रहेको छ । 

मुकुम्लुङ संरक्षण अभियानका अभियन्ता सरु लिम्बूले पहिचानका लागि आफूहरु शान्तिपूर्ण संघर्षमा रहेकाले ढिलो भएपनि सरकारले आफ्नो कुरा सुन्ने विश्वास व्यक्त गर्नुभयो । आदिबासीको थातथलोको संरक्षणमा आफूहरु निरन्तर संघर्ष गर्ने उहाँको भनाइ छ । 

मुकुम्लुङ क्षेत्र ऐतिहासिक क्षेत्र रहेको र त्यहाँ रहेको बोटविरुवा, रुख कटान हुँदा जंगली जीव जनावरको पनि उठिबास भएको उहाँले बताउनुभयो । आदिबासीहरुले औषधीको रुपमा प्रयोग गर्ने जडिबुटी समेत नस्ट भएको उहाँले चिन्ता व्यक्त गर्नुभयो । स्थानीय जनताको अधिकारमा सरकारले ध्यान दिनैपर्ने उहाँको माग छ ।

पत्रकार तथा अभियन्ता दिपिन राईले मुकुम्लुङ आदिबासी समुदायको ऐतिहासिक क्षेत्र रहेको र त्यहाँ धार्मिक पहिचान पनि कायम रहेको बताउनुभयो । मुकुम्लुङ क्षेत्र नष्ट भएमा अन्य ठाउँको आदिबासीको थातथलो समेत संकटमा पर्ने उहाँको बुझाइ छ । 


फोनिजका सल्लाहकार अमरध्वज लामाले मुकुम्लुङ विषय आदिबासीको साझा मुद्दा भएको बताउँदै त्यसको संरक्षणमा सबै आदिबासीको चासो रहेको बताउनुभयो । गैर आदिबासी समुदायलाई समेत मुकुम्लुङको ऐतिहासिकता बारेमा जानकारी गराएर समस्या समाधानमा लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

फोनिजका अध्यक्ष लक्की चौधरीले फोनिजले मिडियाको स्तरबाट आफ्नो भूमिका निर्वाह गर्दैआएको र मुकुम्लुङ क्षेत्रको संरक्षणमा सचेत रहेको बताउनुभयो । आदिबासी समुदायलाई समेत मुकुम्लुङ क्षेत्रबारेमा पर्याप्त जानकारी गराउन नसकिएको अवस्थामा मिडियाको तर्फबाट फोनिजले सो काममा लागेको उहाँले जानकारी दिनुभयो । मुकुम्लुङ क्षेत्र लिम्बू समुदायको ऐतिहासिक क्षेत्र रहेको र पहिचान जोगाउन पनि त्यसको संरक्षणको खाँचो रहेको उहाँले चर्चा गर्नुभयो ।