• ११ साउन २०८२, आइतबार

दुई जना बेपत्ताको अवस्था अज्ञात

blog

देवराम यादव
सप्तरी, साउन ११ गते ।
सप्तरीको राजविराजबाट गत असारमा बेपत्ता भएका दुई जनाका अवस्था अझै अज्ञात छ । यसरी अवस्था अज्ञात हुनेमा एक जना महिला र एक जना पुरुष रहेको सप्तरी प्रहरीले जनाएको छ ।

जिल्लाको राजविराज नगरपालिका– ७ की २५ वर्षीया नितुकुमारी मेहता गत असार २० गतेबाट र अर्को राजविराज–८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर खड्क नगरपालिका ३ घर भएका ५८ वर्षीय उपेन्द्रकुमार भगत असार २५ गतेदेखि बेपत्ता भएका हुन्   ।

घरबाट जेठी छोरीलाई विद्यालय पुर्‍याएर फर्किने भन्दै निस्केकी नितुको अवस्था अहिलेसम्म अज्ञात छ । असार २० गते बिहान १०ः३० नित ६ वर्षीया छोरी सन्ध्यालाई नोबेल एकेडेमी स्कुल पुर्‍याउन गएको बेला बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएको २४ दिन भइसकेको छ ।

यसैगरी, राजविराज ८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर भगत चिया खान गएको बेला बेपत्ता हुनुभएको थियो । उहाँ बेपत्ता भएको १९ दिन भइसक्यो ।

गत शनिबार कम्पनीका सञ्चालकसमेत रहेका उद्योग वाणिज्य सङ्घ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालले भगतको हुलिया विवरणसहित प्रहरीमा निवेदन दिँदै खोजी सहयोग गरिदिन अपिल गर्नुभएको छ ।

भगतले प्रयोग गर्ने कम्पनीको ९८०१६२३४५७ नम्बरको मोवाइल चार्जमा लगाएर अर्का कर्मचारी वैद्यनाथ दासलाई चिया खाएर एकै छिनमा आउँछु भनेर निस्कनुभएको थियो ।

सञ्चालक अग्रवाल अबेर रातिसम्म पनि नफर्केपछि परिवारले आफन्त र नेपाल तथा भारतमा रहेका सदस्य सबैतिर खोजी गर्दा पनि फेला पर्न नसकेको जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले सम्पर्कविहीन अवस्थामा रहेका भगत र मेहता दुवै जनाको सम्पूर्ण प्रहरी कार्यालयमा हुलिया विवरण सर्कुलर गरी खोजी कार्य शुरु गरिएको जानकारी दिनुभयो ।