• २ साउन २०८२, शुक्रबार

पूर्वपश्चिम राजमार्ग विस्तार सुस्त

blog

विस्तारको चरणमा रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा निर्माणाधीन कलभर्ट । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, साउन २ गते ।  गत पुस १७ गतेदेखि काम सुरु गरिएको पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत कमला–पथलैया खण्डको छ महिनामा १० प्रतिशत काम भएको छ । सन् २०२७ सम्ममा चार लेनको सडक निर्माण गर्ने उद्देश्यसहित छ महिनामा १० प्रतिशत काम पूरा भएको कमला–ढल्केबर–पथलैया सडक योजना पूर्वीखण्डले जनाएको छ । आयोजनाका प्रमुख छविलाल पौडेलले सुरुमा साइट क्लियर गर्नै मुस्किल परेकाले काममा ढिलाइ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वन क्षेत्रमा रुख छोडेर काम गरिएको छ । कमला नदीदेखि पथलैयासम्म १३० किलोमिटरमध्ये अहिलेसम्म धनुषा, महोत्तरी र सर्लाहीमा मात्रै काम भइरहेको छ ।” 

रौतहट र बाराखण्डमा राजमार्ग विस्तारका लागि ठेक्का लाग्न सकेको छैन । धमाधम विस्तार भइरहेको राजमार्गको कमलादेखि पथलैयासम्म १३० किलोमिटर सडकको दायाँबायाँका रुख व्यवस्थापनका लागि बल्ल स्वीकृति आएको उहाँले बताउनुभयो ।   उहाँले भन्नुभयो “रुख कटान गरेपछि कामले गति लिने छ ।” 

वन तथा भूसंरक्षण विभागले असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाबमोजिम ३१ हजार ५२९ वटा रुख हटाउन महोत्तरीको गौरीडाँडास्थित कमला–ढल्केबर–पथलैया सडक आयोजनामा पत्राचार गरेको छ । आयोजनाले रुख कटानकै लागि लामो समयदेखि प्रयास गर्दै आएको थियो ।  २०८१ सालमै वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) स्वीकृति भए पनि कटान आदेश बल्ल आएको हो । सर्लाहीका डिभिजन वन प्रमुख सन्तोषकुमार झाले वन तथा भू–संरक्षण विभागले स्वीकृति दिए पनि कटानअघि रुखमा टाँचा हान्नेलगायतका प्रक्रिया बाँकी रहेकाले थप केही समय लाग्ने छ । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी खण्डको विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपियाँ ऋण सहयोगमा विस्तारको काम चलिरहेको हो । एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा मेडियनसहित १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नतिको कामका लागि ठेक्का सम्झौता भएको हो । 

सडक विस्तारका लागि धनुषा र सिराहाको सीमा कमला पुलदेखि धनुषाको बडहरीसम्म इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले तथा दोस्रो र तेस्रोमा पर्ने धनुषाको बडहरीदेखि सर्लाहीको फूलजोर र फूलजोरदेखि सर्लाही र रौतहटको सीमा बागमती पुलसम्मको खण्डमा चाइनिज कम्पनी एसडब्लु इजे र रसुवा कन्स्ट्रक्सन कम्पनी आरसिसी ज्वाइन्ट भेन्चरले काम गरिरहेका छन् । छ महिनाको अवधिमा १५ प्रतिशत काम भइसक्नुपर्नेमा रुख, बिजुलीका पोल, खानेपानीका पाइप, टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापनलगायतका कारण १० प्रतिशत काम मात्रै पूरा भएको आयोजना प्रमुख पौडेलको भनाइ छ । 

पौडेलले भन्नुभयो, “धेरै जसो ठाउँमा रुख कटानको समस्याले हैरान पारेको छ । अवरोध नरहेको र साइट क्लियर रहेको ठाउँमा त तीव्रताका साथ काम गरिरहेका छौँ ।” रुखले गर्दा ठेकेदार कम्पनीले सडक स्तरोन्नतिलाई थाती राख्दै नयाँ पुल निर्माणमा हात हालेका छन् । कमला–बागमती पूर्वी खण्डमा ३४ पुल र एक सय वटा कलभर्ट निर्माण गर्नुपर्नेमा १५ पुल र १७ वटा कलभर्टमा मात्र काम गर्न सकिएको छ । सर्लाहीमा सबैभन्दा पहिले काम सुरु गरिएको लालबन्दी–१ स्थित बागवानी जङ्गलमा कलभर्ट निर्माणको काम पूरा भइसकेको छ । कमलादेखि बागमतीसम्म सर्लाहीकै लालबन्दीमा पहिलो ‘ओभरपास’ निर्माणको काम एक सातादेखि जारी छ ।