गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २ गते । दुई वटा डिजिटल भुक्तानी सेवाप्रदायक आइएमई पे र खल्ती गाभिएर ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालनमा आएको छ । नेपालमा दुई वालेटको यो पहिलो एकीकृत कारोबार हो । बिहीबार काठमाडौँमा आयोजित एकीकरण समारोहमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले नवगठित सञ्चालक समितिलाई एकीकृत कारोबारको अनुमतिपत्र प्रदान गर्नुभयो ।
नयाँ सञ्चालक समितिमा कृष्णप्रसाद शर्मा, दिवाकर पौडेल, सीताराम थापा, प्रवीण रेग्मी, अमित अग्रवाल, अरविन्द साह र मनिष मोदी रहनुभएको छ भने प्रमुख कार्यकारी अधिकृतमा विनय खड्का नियुक्त हुनुभएको छ ।एकीकृत कारोबार गर्नुअघि वालेटले झन्डै एक दशकदेखि विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।
एकीकरण समारोहमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल भुक्तानीले वित्तीय पारदर्शिताको बढोत्तरी हुने भएका कारण हरेक क्षेत्रमा यो लागु हुनु जरुरी रहेको बताउनुभयो ।
यसका साथै सबै नेपालीमाझ अझ सुरक्षित, अझ सरल र सबल भुक्तानी प्रक्रिया लागि एक प्रयोगकर्तामैत्री प्लेटफर्मका रूपमा अगाडि बढ्न शुभकामना दिनुभयो ।
आइएमई पेका अध्यक्ष कृष्णप्रसाद शर्माले खल्तीसँगको एकताबाट बनेको आइएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ गति दिने विश्वास व्यक्त गर्नुभयो ।
खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले खल्ती र आइएमई पेको एकता नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि एक ऐतिहासिक कदम हो भन्दै अब आइएमई खल्ती लिमिटेडले देशभर सम्पूर्ण वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने बताउनुभयो ।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँचलाई थप विस्तार गर्ने, डिजिटल साक्षरता अनि समावेशीकरणका लागि थप योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा आइएमई ग्रुपका सहअध्यक्ष चन्द्रप्रसाद ढकाल र हेमराज ढकाललगायतले डिजिटल भुक्तानी नेपालको अर्थतन्त्रका लागि अपरिहार्य रहेको बताउनुभएको थियो । दुवै वालेटका गरी अब एक करोड २७ लाख ग्राहक रहेको बताइएको छ । एकीकरणपछि ५४.५४ करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भई ‘आइएमई बाई खल्ती’ देशकै ठुलो डिजिटल वालेट बनेको छ ।