• १३ जेठ २०८१, आइतबार

बजार निरन्तर ओरालो : लगानीकर्ता विरोधमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ६ गते । सेयर बजार लगातार घटिरहेको अवस्थामा पनि सरोकारवाला निकायले चासो नदेखाएको भन्दै केही लगानीकर्ता आन्दोलन गरिरहेका छन् । बजार सुधारका लागि नियामक निकायहरू धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने माग उनीहरूको छ ।

बजार सुधारकै माग राखेर लगानीकर्ता अनशन बस्नेदेखि ज्ञापनपत्र बुझाउने र प्रदर्शनी गरिरहेका छन् । सेयर बजार झन्डै ४० प्रतिशतले घटिसकेको छ । कतिपय कम्पनीको मूल्य त ७० प्रतिशतसम्म पनि ह्रास आइसकेको छ । पुँजी बजारविरोधी नीतिका कारण विगत १० महिनादेखि सेयर बजार मारमा परेको लगानीकर्ताको गुनासो छ । नीतिमै चलाएर बजार घटाइएकाले अब बजार सुधार्न पनि सोही नीतिमै सुधार गर्नुपर्ने आमलगानीकर्ताले माग गरिरहेका छन् ।

गभर्नरलाई ज्ञापनपत्र

आन्दोलनरत लगानीकर्ताले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।१९ बुँदे माग पूरा गराउन विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका लगानीकर्ताले राष्ट्र बैङ्क अगाडि प्रदर्शन पनि गरेका थिए ।

समस्या समाधानको पहल

धितोपत्र बोर्डका सहप्रवक्ता रूपेश केसीले पनि लगानीकर्ताको चासो सम्बोधन गर्न धितोपत्र बोर्डले पहल गरिरहेको बताउनुभएको छ । उहाँले धेरै काम अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कसँग सम्बन्धित भएको पनि बताउनुभयो । 

सेयर बजारमा देखिएका समस्या सम्बोधन गर्न अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले दुई–तीन दिनमा पूर्णता पाउने जानकारी दिँदै उहाँले कार्यदलले पूर्णता पाएलगत्तै काम थाल्ने उहाँले जानकारी दिनुभयो ।

माग बोर्डको कार्यक्षेत्रबाहिर

नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको जनाएको छ ।

धितोपत्र बजारको सुधारको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनप्रति धारणा सार्वजनिक गर्दै कर्मचारी युनियनले वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालयको पहलकदमीमा मात्रै माग सम्बोधन हुनसक्ने स्पष्ट पारेको छ ।

युनियनका अध्यक्ष राजुबहादुर जीसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा बोर्ड आफैँले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित माग यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्वसमक्ष र अन्य माग सम्बोधन गर्न नेपाल सरकारसमक्ष माग गर्दै कार्यालय परिसरको सुरक्षा एवं बोर्डका कर्मचारीलाई सुरक्षित कार्यस्थलको प्रत्याभूति गराउन माग गरेको छ ।

३७ अङ्कले घट्यो नेप्से

निरन्तर ओरालो लागिरहेको सेयर बजारले १९ सयको बिन्दु पछ्याएको छ । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक ३७.२७ अङ्कले ओरालो लागेर १९३४.११ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ७.२९ अङ्कले ओरालो लागेर ३७३.८५ कायम भएको छ । समग्रमा पहिलो दिनको सेयर बजार १.८९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.९१ प्रतिशतले ओरालो लागेको छ ।