• ८ वैशाख २०८१, शनिबार

जोखिम थप्दै डिजिटल बोर्ड

blog

त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड ।तस्बिर : सागर बस्नेत

काठमाडौँ, असार ६ गते । काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको अग्रभागमा सबैखाले यात्रुको ध्यान खिच्ने गरी राखिएको विद्युतीय विज्ञापन पाटी (डिजिटल एड्भर्टिजमेन्ट बोर्ड)मा सन्देश देखापर्छ ‘वृद्धावस्था र जोखिममा रहेकाको संरक्षण गरौँ ।’ तर उक्त विज्ञापन सकिन नपाउँदै परिवर्तन हुने अर्को विज्ञापनले आँखा तिर्मिराउने गरी अर्को जोखिममा धकेल्छ ।

त्यसमाथि व्यस्त सडकमा अत्यधिक प्रकाशयुक्त रङ्गीविरङ्गी विज्ञापनले साना–ठूला सबैखालका सवारीचालकका आँखामा असर पार्छ । त्यसले गर्दा गम्भीर दुर्घटनाको जोखिम बढाउँछ । डिजिटल बोर्डले सडकमा फाल्ने प्रकाशले अप्रत्यक्ष रूपमा आँखालाई असर पारिरहेको तिलगङ्गा आँखा अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक सन्दुक रुइत बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सडकमा जथाभावी रूपमा राखिएका यस्ता बोर्डलाई नियमनको जरुरत छ । सकेसम्म बटुवा तथा सवारीका यात्रु आफैँ पनि यस्ता प्रकाशबाट बच्न सचेत हुनु आवश्यक छ ।” तथापि त्यहाँ हालसम्म त्यस्तो दुर्घटना भने नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले डिजिटल होर्डिङ बोर्डले सवारी आवागमनमा पारेको प्रभावबारे अहिलेसम्म गुनासो नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय सडक दुर्घटनाका कारक डिजिटल बोर्ड पनि हुन सक्लान् तर अहिलेसम्म किटानी भएको छैन ।” उहाँले त्यसले पार्ने जोखिमबारे भने आफूहरूले हेर्ने कार्य क्षेत्र नै नपरेको दाबी गर्नुभयो ।

त्रिपुरेश्वरमा मात्र होइन, उपत्यकामा मनपरी ढङ्गले डिजिटल होर्डिङ बोर्ड राख्ने होड नै चलेको छ । कालीमाटी, कलङ्की, नयाँसडक, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, बूढानीलकण्ठ, माइतीघर, थापाथली, बानेश्वर, कोटेश्वर, बौद्ध, लगनखेल, भक्तपुरलगायत थुप्रै स्थानमा बडेमानका डिजिटल बोर्ड राखिएका छन् । 

त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमाथि राखिएको डिजिटल बोर्डले अत्यधिक प्रकाशको मात्रा सडकमा छर्ने गरेको छ । त्यसले पैदलयात्रीका साथै सवारीसाधनमा यात्रा गर्नेको समेत आँखामा प्रतिकूल असर पारिरहेको छ । डिजिटल बोर्डमा प्रस्तुत गरिने आकर्षक तस्बिर तथा भिडियोले सवारीचालकको ध्यान केन्द्रित हुँदा दुर्घटनासमेत निम्तिने गरेको छ । 

काठमाडौँ महानगरपालिकाले होर्डिङ बोर्डको अवधारणा हटाएपछि व्यापारीले त्यसको विकल्पका रूपमा डिजिटल बोर्डको सुरुवात गरेका हुन् तर सहरलाई उज्यालो र रङ्गीन बनाउने नाममा व्यापारीले यसलाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाइरहेका छन् ।  


डिजिटल बोर्डले सडकमा फाल्ने प्रकाशले अप्रत्यक्ष रूपमा आँखालाई असर पारिरहेको छ : 

डा. सन्दुक रुइत

यसको नियन्त्रण तथा अनुगमन गर्न अहिले महानगरपालिकालाई सकस भइरहेको छ । महानगरपालिकाको राजस्व विभागबाट स्वीकृति लिएपछि डिजिटल बोर्ड राख्न पाइने भए पनि बोर्ड राख्ने स्थान, त्यसले सिर्जना गर्ने प्रकाशको मापदण्ड तथा त्यस्ता बोर्डबाट प्रसारण गर्न पाइने विज्ञापनका सम्बन्धमा कुनै मापदण्ड छैन । महानगरपालिका राजस्व विभागका प्रमुख डा. शिव अधिकारीले भन्नुभयो, “स्वीकृति लिएपछि डिजिटल बोर्ड राख्न पाइन्छ । 

यही मौकाको फाइदा उठाउँदै व्यापारीले मनपरी गर्न थालेका छन् ।” उहाँका अनुसार काठमाडौँ महानगरभित्र ४२ वटा जति डिजिटल बोर्ड राख्ने अनुमति दिइएको छ तर अनुमति बेगर थुप्रै ठाउँमा डिजिटल बोर्ड राखिएको पाइएको छ । 

कामपा राजस्व विभागका प्रमुख अधिकारीका अनुसार अत्यधिक प्रकाशको मात्रा फाल्ने बोर्ड सञ्चालकलाई पत्राचार गरेर प्रकाशको मात्रा घटाउन निर्देशन दिइएको थियो तर त्यसको कार्यान्वयन भएको छैन । काठमाडौँ महानगरपालिका महानगरीय प्रहरी प्रमुख धनपति सापकोटाकाले अहिले राजस्व विभागबाट अनुमति लिएका र आफूखुसी राखेका डिजिटल बोर्डबारे अध्ययन भइरहेको बताउनुभयो । 

“कुनै समय होर्डिङ बोर्डलाई व्यवस्थापन गर्न निकै चुनौती थियो तर महानगरपालिका सफल भयो,” उहाँले भन्नुभयो, “डिजिटल बोर्डलाई पनि समयअनुसार नियमनको दायरामा ल्याउँछौँ ।”

होर्डिङ बोर्ड सडकका खम्बा तथा सार्वजनिक स्थानमा पनि राख्ने गरिन्थ्यो । अधिकांश डिजिटल बोर्ड निजी भवनमा राखिएका छन् । अनियन्त्रित रूपमा बोर्ड राख्ने प्रचलन बढेपछि राजस्व विभागले तत्कालका लागि नयाँको अनुमति रोक्का गरेको छ । बोर्ड राख्दा पूरा गर्नुपर्ने मापदण्डको मस्यौदा महानगरपालिकाको विधायन समितिमा पेस गरिएको छ । 

कामपाका राजस्व प्रमुख अधिकारीले जथाभावी बोर्ड राख्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै सहरको प्रकृति र स्थान हेरेर सोही प्रकारको बोर्ड राख्न दिनुपर्ने बताउँदै व्यक्तिले आफ्नै घरमा राख्ने भए पनि महानगरपालिकाको मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्नेलगायतका प्रस्ताव मापदण्डसम्बन्धी मस्यौदामा उल्लेख भएको जानकारी दिनुभयो । महानगरपालिकामा हाल विधायन समिति गठन नभइसकेकाले यतिबेला यस विषयमा छलफल हुन सकेको छैन । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।