• १६ असार २०८१, आइतबार

१४ घण्टापछि डुम्रे–बेसी सहरको अवरोध हट्यो

blog

लामो समयको अवरोधपछि खुलेको सडक

तनहुँ, असार ५ गते। डुम्रे–बेसी सहर सडक खण्डको अवरोध हटेको छ। आइतबार साँझ ६ : १५ बजेबाट सडक सुचारु भएको हो। अबिरल वर्षाले गर्दा तनहुँको भानु नगरपालिका–८ बलिफाँटमा बाढीले खोतलेर सडक भासिएपछि आइतबार बिहान चार बजेदेखि सडक अवरुद्ध भएको थियो। 

बाढीले खोलेको ठाउँमा ह्युम पाइप राखेर माटो र ढुङ्गाले पुरेर १४ घण्टापछि अवरोध हटाइएको प्रहरी चौकी बाइसजङघारका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिनुभयो। 

तनहुँको डुम्रे बजार र जमजुङको बेशीसहर जोड्ने सो सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका थिए। यो सडकले तनहुँका अतिरिक्त जमजुङ, गोरखा र मनाङ जिल्लाका थुप्रै भू–भाग जोडेकोले धेरै बासिन्दा प्रभावित भएका थिए। 

सडक विभाग यान्त्रिक कार्यालय डुम्रे, सडक डिभिजन कार्यालय लमजुङको प्राविधिकको सहयोगमा डोजरको सहायतामा अवरोध हटाएको प्रहरी सहायक निरीक्षक थापाले बताउनुभयो। सडक खुलेपछि यात्रुहरु आ–आफ्नो गन्तव्यमा लागेका छन्।

Author

अमरराज नहर्की