रामकृष्ण बोहरा
बागलुङ, असार २६ गते । दक्षिण बागलुङको बडिगाड गाउँपालिकाले आगामी दुई वर्षभित्र पालिकामा एक हजार वरपिपल र अन्य बिरुवा रोप्ने भएको छ । ‘ग्रीन एण्ड क्लिन बडिगाड’ कार्यक्रमअन्तर्गत मध्यपहाडी लोकमार्गसहित पालिकाका नौ वटै वडाका विभिन्न सार्वजनिक स्थानमा बिरुवा रोप्न अभियान सुरु गरेको हो ।
हरिवोधनी एकादशीको अवसर पारेर सुरु गरिएको अभियानअन्तर्गत प्रारम्भिक चरणमा एक सय आठ पिपल र वरका बिरुवासहित विभिन्न फलफूल, जडिबुटी र फूलका बिरुवा रोपिएको हो । पालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममै वरपिपल, फलफूल तथा जडीबुटीका बिरुवा रोप्ने बाचाअनुरुप नै बिरुवा रोप्न लागिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
हरियाली बडिगाड बनाउने, सौन्दर्यकरणलाई बढाउने, बढ्दो कार्बनउत्सर्जनलाई रोक्ने र मानव स्वास्थ्यसँग जोडिएको स्वस्थ वायु बनाउने मुख्य अभिप्रायले ग्रीन एण्ड क्लिन बडिगाड कार्यक्रम सुरु गरिएको अधिकारीको भनाइ छ । गाउँपालिकाले चार माध्यमिक विद्यालयमा गठित जिरो क्लबका सदस्य विद्यार्थीहरु, शिक्षक, स्थानीय समुदाय लगायतको उपस्थितिमा टोल टोलमा वृक्षारोपण अभियान सञ्चालन गरेको हो ।
धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले अत्यन्तै महत्त्व भएकाले विशेषगरी वरपिपल र अन्य प्रजातिका बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले जानकारी दिनुभयो । हरिशयनी एकादशीमा पालिका भवन परिसरमा तुलसी रोपण गरी अभियानको शुभारम्भ गरिएको हो ।
बडिगाड गाउँपालिका–५ खार, भिमगिठे, न्वार लगायतका स्थानमा वृक्षारोपण गरिएको पौडेलले बताउनुभयो । रोपिएका बिरुवाको संरक्षणका लागि पनि पालिकाले बिरुवा लिएका व्यक्तिहरुको विवरण राखेर नियमित रुपमा अनुगमन गर्ने जनाएको छ ।
अहिले मोटरबाटो बन्दै गएपछि पुराना पैदलमार्गहरु नासिँदै गएका छन् । पैदलमार्ग नासिँदै जाँदा बहुगुणी वपिपलको संरक्षणमा पनि ध्यान पुग्न सकेको छैन । सडकलगायत विभिन्न पूर्वाधार बनाउँदा वरपिपल मास्न कुनै अप्ठारो नमान्ने प्रवृत्ति मौलाएकाले पुरानो संस्कृति र पर्यावरण सन्तुलनका लागि अभियान शुभारम्भ गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।