• २३ असार २०८१, आइतबार

मलाई जानकारी गराइएन : ओली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०१५ मा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्र लेख्दा आफूलाई त्यसको कुनै पनि जानकारी नगराएको बताउनुभएको छ । 

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले २०७२ असोज ६ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र असोज १६ गते सैनिक मुख्यालयमा पठाउनुभएको दाबी गर्नुभयो ।  उहाँले सुशील कोइरालाको पालामा सुरु भएको प्रक्रिया प्रचण्ड प्रधानमन्त्री हुँदा अघि बढेको र आफ्नो पालामा कार्यदल गठन गरेर अस्वीकार गरिदिएको दाबी गर्नुभयो ।

यसैबीच एमालेबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिले २० वटा सङ्कल्प जारी गर्नुभएको छ । गत वैशाख ३० गते भएको स्थानीय चुनावमा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षलाई काठमाडौँमा गरिएको प्रशिक्षणपछि उहाँहरूले २० बुँदे काठमाडौँ सङ्कल्प जारी गर्नुभएको हो । सङ्कल्पमा आफ्नो पाँच वर्षको कार्यकालका लागि के–के गर्ने भन्ने विषय समेटिएको छ । सङ्कल्पको पहिलो बुँदामा हामी शासक होइनौँ, जनताका सेवक हुनेछौँ लेखिएको छ ।